शीर्षकहरू

औद्योगिक क्षेत्रको करोडौं बक्यौता नतिर्ने उद्योगलाई ७ दिनको अल्टिमेटम, कुन उद्योगको कति बाँकी ?

गुराँस इन्जिनियर्सदेखि बोटलर्स नेपालसम्मको नाम सार्वजनिक, रकम नतिरे लाइन काट्ने र कानुनी प्रक्रिया अघि बढाउने चेतावनी

औद्योगिक क्षेत्रको करोडौं बक्यौता नतिर्ने उद्योगलाई ७ दिनको अल्टिमेटम, कुन उद्योगको कति बाँकी ?

काठमाडौं। सरकारले औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगहरूको बक्यौता असुली प्रक्रिया कडाइ गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लामो समयदेखि जग्गा, भवन तथा पूर्वाधार प्रयोग गरे पनि भाडा र सेवा शुल्क नतिर्ने उद्योगहरूलाई सात दिनभित्र बक्यौता रकम बुझाउन निर्देशन दिएको छ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सार्वजनिक गरेको सूचनाअनुसार बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित केही ठूला उद्योग तथा कम्पनीले करोडौं रुपैयाँ बराबरको भाडा तथा अन्य शुल्क तिर्न बाँकी राखेका छन्।

सूचनाअनुसार सबैभन्दा धेरै बक्यौता राख्ने उद्योगमा गुराँस इन्जिनियर्स प्रालि रहेको छ। कम्पनीले ३ करोड ७३ लाख १९ हजार रुपैयाँ तिर्न बाँकी छ। त्यसपछि कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज प्रालिको ३ करोड ६९ लाख १० हजार रुपैयाँ, बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीको २ करोड ५५ लाख ८६ हजार रुपैयाँ बक्यौता रहेको छ।

त्यस्तै, बोटलर्स नेपाल लिमिटेड (कोकाकोला) ले जग्गा तथा पूर्वाधार बहालबापत १ करोड ७५ लाख रुपैयाँ, बालाजु अटो वर्क्स प्रालिले १ करोड ४५ लाख रुपैयाँ, नेपाल ग्यास उद्योगले १ करोड ३१ लाख रुपैयाँ तथा कन्टिनेन्ट सर्भिसेज प्रालिले करिब १ करोड रुपैयाँ तिर्न बाँकी रहेको सूचनामा उल्लेख छ।

उद्योगमन्त्री गौरीकुमारी यादवले बक्यौता असुलीमा अब कुनै किसिमको सम्झौता नगर्ने संकेत गरेकी छन् । मन्त्रालयका अनुसार सात दिनभित्र बक्यौता रकम भुक्तानी नगर्ने उद्योगविरुद्ध थप कानुनी र प्रशासनिक कारबाही प्रक्रिया अघि बढाइनेछ।

मन्त्रालय स्रोतका अनुसार उद्योगहरूले जग्गा बहाल, भवन बहाल, विद्युत् तथा पानी महशुल नतिर्दा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको आर्थिक अवस्था प्रभावित भएको छ। बक्यौता रकम नउठ्दा नयाँ पूर्वाधार निर्माण, पुराना संरचनाको मर्मतसम्भार तथा उद्योगहरूलाई आवश्यक सेवा प्रवाहमा समेत समस्या देखिएको छ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बक्यौता रहेका उद्योगलाई तत्काल रकम बुझाउन आग्रह गरेको छ। निर्धारित समयभित्र भुक्तानी नभए सेवा सुविधा कटौतीदेखि कानुनी असुली प्रक्रियासम्मका विकल्प प्रयोग गरिने मन्त्रालयले जनाएको छ।

सरकारले पछिल्लो समय सार्वजनिक संस्थान र सरकारी सम्पत्तिबाट उठ्नुपर्ने राजस्व तथा शुल्क असुलीलाई प्राथमिकतामा राख्दै आएको छ। त्यसैअनुसार औद्योगिक क्षेत्रभित्र वर्षौंदेखि थाती रहेका बक्यौतामाथि पनि कडाइ सुरु गरिएको मन्त्रालयको भनाइ छ।

कुन उद्योगको कति रकम तिर्न बाँकी ?

औद्योगिक क्षेत्र व्यवस्था लिमिटेडले सार्वजनिक गरेको सूचनाअनुसार बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित नेपालकै नाम चलेका बहुराष्ट्रिय कम्पनी तथा ठूला व्यापारिक घराना नै सबैभन्दा बढी बक्यौता राख्ने सूचीमा छन्। करोडौँ रुपैयाँ सरकारी बक्यौता नतिर्ने प्रमुख उद्योगको विवरण यसप्रकार रहेको छ।

१. गुराँस इन्जिनियर्स प्राइभेट लिमिटेड  तीन करोड ७३ लाख १९ हजार

२. कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज प्रालिको  तीन करोड ६९ लाख १० हजार

३. बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेकको  दुई करोड ५५ लाख ८६ हजार

४. बोटलर्स नेपाल लिमिटेड (कोकाकोला) जग्गा तथा पूर्वाधार बहाल  एक करोड ७५ लाख

५. बालाजु अटो वक्र्स प्रालिको  एक करोड ४५ लाख

६. नेपाल ग्यास उद्योग औद्योगिक जग्गा बहाल  एक करोड ३१ लाख

७. कन्टिनेन्ट सर्भिसेज प्राइभेट लिमिटेड  करिब एक करोड

प्रतिक्रिया