जन्मथलोको विकासमा प्रधानमन्त्रीको चासोले स्थानीय उत्साहित - Aarthiknews
aarthiknews.com आइतबार, ११ फागुन २०७६   Sunday, 23 February, 2020
 

जन्मथलोको विकासमा प्रधानमन्त्रीको चासोले स्थानीय उत्साहित

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • मंगलबार, ०७ माघ २०७६
Sunrise
जन्मथलोको विकासमा प्रधानमन्त्रीको चासोले स्थानीय उत्साहित
LBEF

पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले आप्mनो जन्मथलोको विकासमा चासो देखाएपछि यहाँका स्थानीय उत्साहित भएका छन् । प्रधानमन्त्री ओलीको जन्मस्थल तेह्रथुमको आठराई गाउँपालिका–४, इवामा रहेको घरलाई संग्रहालय बनाउने योजनाले स्थानीयवासी यस क्षेत्रको थप विकास हुनेमा विश्वस्त छन् । आठराईमा केपी शर्मा ओली ट्रस्ट नेपालका नामबाट ४०० रोपनी जग्गा खरीद गरी संग्रहालयसँगै  कृषि अनुसन्धान केन्द्र, हेलिप्याड जस्ता संरचना बनाउने योजना छ । 

अहिलेसम्म ट्रस्टले संग्रहालय र कृषि अध्ययन केन्द्र सञ्चालन गर्न २०० रोपनी जग्गा खरीद गरिसकेको र बाँकी २०० रोपनी जग्गा खरीदको चरणमा रहेको आठराई गाउँपालिका नेकपा अध्यक्ष भीम घिमिरेले जानकारी दिए । यसले आठराई क्षेत्रमा विकास र समृद्धिको ढोका खुल्नेमा स्थानीय विश्वस्त बनेको उनको भनाइ छ ।

२०२८ सालमा ओली रिवार आठराईबाट झापाको दमक बसाइँ सरेपछि प्रधानमन्त्री ओलीको जन्मघर बेवारिसे जस्तै बनेको थियो । २०२८ सालमा ओली परिवारले विक्री गरेको यो घर केही समयअघि उहाँले रू. १० लाख ५० हजारमा खरीद गर्नुभएको थियो । अहिले यसको संरक्षणमा चासो व्यक्त गरिएपछि स्थानीयले खुशी व्यक्त गरेको उहाँका बाल्यकालका साथी तिलबहादुर गहतराजले बताए । 

प्रधानमन्त्रीले आगामी जन्म दिन आफू जन्मिएकै स्थानमा मनाउने इच्छा गरेपछि उहाँकै लगानीमा जन्म घर नजीकै हेलिप्याड समेत निर्माण भइसकेको छ । प्रधानमन्त्रीले जन्मघरको संरक्षणमा चासो देखाएपछि उक्त घरमा मानिसको चहलपहल समेत बढेको ओलीको जन्मघरको रेखदेख गर्दै आएकी भगीरथा भुसालले बताइन् । तेह्रथुमको आठराई इवामा रहेको प्रधानमन्त्रीको जन्मघर हुँदै मदन भण्डारीको गाउँ ताप्लेजुङको ढुंगेसाँघुसम्म जोड्ने सडक  कालोपत्रका लागि बजेट समेत विनियोजन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस