aarthiknews.com विहीबार, ०९ बैशाख २०७८   Thursday, 22 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

प्रधानमन्त्रीज्यू, अहिले नै साकार हुँदैन पुर्व–पश्चिम रेलको सपना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ माघ २०७६
Reliance life insurance
प्रधानमन्त्रीज्यू, अहिले नै साकार हुँदैन पुर्व–पश्चिम रेलको सपना
Jagadamba
LBEF

काठमाडौं । मंगलबार ब्यापारीहरुको प्रतिनिधि मण्डलसंग प्रधानमन्त्री केपी ओलीले भने, ’मैले रेल र पानी जहाजको कुरा गर्दा हाँसोमा उडाइयो, ठट्टा बन्यो। तर, अब त्यो चांडैनै सत्य बन्दैछ ।’ यदी आफ्नो सपना बनेको रेलको लागि लिग बनाउने काम कछुवाको गतिमा चलेको छ भन्ने थाहा पाएका भए शायद प्रधानमन्त्रिले त्यसो भन्ने थिएनन् । 

हुनपनी पूर्वपश्चिम रेल सञ्चालनको लागि जम्मा १ हजार ४५ किलोमिटर रेलवे निर्माण हुनुपर्नेमा हालसम्म ७० देखि ८० किलोमिटरको मात्र निर्माण कार्य चलिरहेको रेल विभागले जनाएको छ । यो प्रगति एक दशकको हो। सन् २००८ देखि नै पूर्वपश्चिम रेलमार्गको अवधारणा अनुरुप काम सुरु भएको थियो । तरपनी  निर्माणको कामले लक्ष्यअनुसार गति लिन सकेको छैन ।

नेपालमा रेल आउने हल्लाले जति प्राथामिकता पाएको छ यदि त्यहि अनुरुपको काम पनि भएको भए यस्तो अवस्था आउने थिएन। तर, काम नगर्ने तर कुरा भने अलि बढी नै ओथर्ने प्रवृतिले पुर्व-पश्चिम छुकछुके  रेल अझै धेरै समयसम्म प्रधानमन्त्रिको भाषण र नेपालीको सपनामा मात्र सिमित हुने देखेको हो।  बिडम्बना नै भन्नु पर्छ रेक बारे यति धेरै चर्चा भएपनि हालसम्म रेल चलाउन जान्ने  र रेल सम्बन्धि प्राविधिक ज्ञान भएका एकजना समेत दक्ष जनशक्ति नेपालमा छैनन् ।

दक्ष जनशक्ती उत्पादनको लागि विभागले के काम गर्दैछ भन्ने प्रश्नमा रेल विभागका प्रवक्ता अमन चित्रकारले भने, ‘एउटा रेल सञ्चालन गर्नको लागि एक वर्ष प्रोफेसनले ट्रेनिङ दिए पछि मात्र उसलाई काम गर्नको लागि फिलमा लगिन्छ । नेपालमा भर्खर त्यतातिर पाइला टेक्न लागेको छौ नेपालमा पनि होला भन्ने आस गरौ ।’

रेल विभागका अनुसार अहिलेसम्म रेलको जतिपनि काम भएको छ त्यो सबै बाहिरी परामर्शदाताबाट नै मात्र भएको छ ।  सन् २००८ बाट सञ्चालन गरिएको उक्त रेलको निर्माण कार्य कहिले सम्म सम्पन्न गरिसक्ने भन्ने कुनै समयसीमा तोकिएको छैन । यहि कारणले पनि रेलमार्ग निर्माण गर्ने देखि संचालनका लागि तयारी गर्ने काम अत्यन्तै सुस्त गतिमा अगाडि बढेको बताइन्छ । 

जतिसुकै हो(हल्ला गरिएपनी हाल सम्म पूर्वपश्चिम रेलमार्ग निर्माणको लागि तयारी स्वरुप जयनगर–इनरूवा– विजयपुरसम्मको ५२ किलोमिटर मार्ग निर्माणको लागि मात्र मुआब्जा वितरण गरिएको छ ।  रेलमार्ग निर्माणको लागि थप क्षेत्रमा सरकारले मुआब्जा समेत दिन नसकेको रेल विभागका प्रवक्ता अमन चित्रकार बताउँछन्  । 

निजगढ– हेटौडा – भरतपुर खण्डमा भने भर्खर डिपिआरको काम चलिरहेको छ ।  यस कामको लागि परामर्शदाता छनोट गर्ने काम भएको छ । चित्रकारका अनुसार उक्त कामको लागि कोरियन, इन्डियन र चाइनिज कम्पनीलाई  जिम्मा दिइएको छ ।  

पूर्व-पश्चिम रेलमार्ग निर्माणको लागि १० खर्ब बजेट आवश्यक पर्छ । यो आर्थिक वर्षमा यो कामको लागि जम्मा ७ अर्ब बजेट छुट्याइएको छ भने गत आर्थिक वर्षमा ४ अर्ब बजेट छुट्याएको थियो । पूर्व पश्चिम रेल निर्माणको लागि पूर्व मेची देखि पश्चिम महाकालीसम्मको प्रारम्भिक डिपिआर १ वर्ष अगाडि नै तयार भएको थियो । अहिले लालबन्दि देखि बर्दिबाससम्म ट्रयाक विछ्याउने काम भईरहेको रेल विभागले जनाएको छ ।  

बर्दिबास देखि निजगढ सम्म ७० किलोमिटरमा सिभिल बक्स (रेललाई चाहिने मार्ग) को काम भईरहेको छ । रेल विभागले जनाए अनुसार यो काम नितान्त नेपाल सरकारको आर्थिक स्रोतबाट भईरहेको छ । 

रेल बिभाग भने आफुले सकेजति छिटो काम गरेको दाबी गर्छ। चित्रकारले भने, ’रेलमार्गको लागि सरकारले जति बजेट छुट्याएको छ त्यसको परिधिभित्र रहेर तिब्रगतिमा काम गरिरहेका छौं ।’ सरकारले छुट्याएको बजेट मध्येपनि धेरै बजेट मुआब्जामा खर्च भएको चित्रकारले बताए । अन्य परियोजनाहरुको हवाला दिंदै उनले भने, ’नेपालको अहिलेको परिवेश हर्दा जग्गा प्राप्ति गर्न नै निकै जटिल छ।’ यहि समस्या निकट भविष्यमा नै बर्दिबास देखि जयनगरसम्मको लागि रेल मार्ग तयार गर्दा देखिने सम्भावना आफुले देखेको समेत उनले बताए ।
 

प्रतिक्रिया दिनुहोस