आयो माघी, बढ्यो तरुल र सखरखण्डको व्यापार - Aarthiknews
aarthiknews.com सोमबार, ०६ माघ २०७६   Monday, 20 January, 2020
 
Bajaj_Bike

आयो माघी, बढ्यो तरुल र सखरखण्डको व्यापार

  • मानमती पन्त
    मानमती पन्त
  • सोमबार, २८ पुस २०७६
Sunrise bank
आयो माघी, बढ्यो तरुल र सखरखण्डको व्यापार
LBEF

काठमाडौं । उल्लासमय पर्व माघीको आगमनसंगै राजधानिमा तरुल र सखरखण्डको व्यापार बढेको छ । अघिपछि सामान्य रुपमा मात्र देखिने तरुल लगायतका कन्दमुलको व्यापार माघीको अवसरमा भने बढेको हो ।

राजधानीका प्रत्येक चोक–चोक र गल्ली–गल्लीमा तरुल, सखरखण्ड, पिडालु, जस्ता कृषि उत्पादकहरु व्यापारीले बिक्रीमा राखेका छन् । ती व्यापारीहरुका अनुसार अन्य समय भन्दा अहिले कन्दमुलको व्यापार दोब्बर भएको सुनाँउछन् ।  

कहाँबाट कति आयात भयो तरुल
यस वर्ष पुस महिनामा मात्र १२ सय ६ टन तरुल भित्रिएको छ । प्रवक्ता विनय श्रेष्ठका अनुसार माघे सङ्क्रान्तिलाई लक्षित गरेर पुस महिनामा तरुल भित्र्याइन्छ । यो वर्ष सबैभन्दा बढी तरुलको आयात सर्लाहीबाट ५ सय टन भएको छ । यस्तै धादिङबाट १ सय ३४ टन, चितवनबाट १ सय ३५ टन, नवलपरासीबाट एक सय दुई टन र अन्य आसपासका जिल्लाबाट तरुल आयात भएको छ । यस्तै देशका पहाडी तथा तराइका अन्य विभिन्न जिल्लाबाट पनि तरुल भित्रिएको छ । भारतबाट तरुल ४२ टन र सखरखण्ड पनि सोही अनुपातमा  आयात गरिएको श्रेष्ठले बताए ।

कुन कन्दमुल कति आयात भयो 
कालिमाटी फलफुल तथा तरकारी बजारले पुष महिनाको सुरु देखि सोमबार बिहान (आज)सम्म तरुल १२ सय ६ टन, पिडाँलु १ सय ७२ टन, सखरखण्ड २ सय २८ टन भित्रिएको श्रेष्ठले जानकारी दिए ।  माघेसंक्रान्तिमा भारतबाट सखरखण्ड र तरुल आयात हुने गरेको बताए । माघे संक्रान्तिमा नेपालको उत्पादन नपुगेपछि भारतबाट आयात गर्ने गरिएको श्रेष्ठले बताए । कालीमाटी बजारमा धेरैजसो सर्लाही, चितवन, नवलपरासी झापा, सुनसरी र सल्यानलगायतका जिल्लाबाट यि कन्दमुलहरु आउने गरेको बताए । श्रेष्ठले विभिन्न तराई तथा पहाडी जिल्लाबाट कालीमाटी बजारमा दैनिक लगभग ३ सय टन तरुल लगायतका कन्दमुलहरु भित्रिने गरेको बताए । 

गत बर्ष भन्दा मुल्य बढ्यो 
गत वर्षको तुलना यस वर्ष थोकमा प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म तरुलको मूल्य बढेको छ । गत वर्ष प्रतिकेजी ४० रुपैयाँमा पाउने तरुल यस वर्ष प्रतिकेजी लगभग ६० रुपैयाँ पर्ने गरेको श्रेष्ठले बताए । गत वर्षको तुलनामा यस वर्ष नेपाली तरुलको उत्पादन घटेको हुँदा मूल्य महँगो भएको उनको भनाइ छ । 

कालिमाटी फलफुल तथा तरकारी बजारमा खुद्रामा १ सय २० रुपैयाँ पर्ने तरुलको मुल्य राजधानीका अन्य व्यापारीले २ सय रुपैयाँमा कारोबार गरिरहेका छन् । व्यापारीका अनुसार भारतीय तरुल एक सय रुपैंया पाइन्छ, तर नेपाली तरुल मिठो स्वाद हुने गर्दछ त्यसैले तरुल महंगो भएको हो भन्दै २ सय रुपैँया असुली रहेका छन् । त्यस्तै सखरखण्ड प्रति केजी एक सयका दरमा कारोबार भइरहेको छ ।  

यस्तो छ भन्सार विभागको तथ्यांक

भन्सार विभागको तथ्यांकमा सखरखण्डको आयातको मात्र तथ्याकं रहेको छ । चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा भारतबाट ४७ लाख १४ हजार मूल्य बराबरको सखरखण्ड आयात भएको छ । जसमा २ लाख ६२ हजार ३० किलोग्राम आयात भएको हो । 
 

प्रतिक्रिया दिनुहोस