aarthiknews.com विहीबार, २२ जेठ २०७७   Thursday, 04 June, 2020
 
Tansen_cement
hulas Remite

डमीले यसरी ठड्यायो स्वाभिमानको कद

  • मानमती पन्त
    मानमती पन्त
  • शनिबार, १९ पुस २०७६
Sunrise
डमीले यसरी ठड्यायो स्वाभिमानको कद
LBEF

काठमाडौं । प्राय हरेक जसो फेन्सी पसलको ढोकैमा उभिएर ग्राहक लोभ्याउने काममा राम्रा तरुनी र तन्नेरी हुन्छन् । ठाँटिएर ठिंग उभिएका उनीहरुको पहिरन नै हेरेर पनि धेरैको मनमा कपडा किन्ने रहर जाग्छ । 

यसरी नबोलिकन मान्छेको मन बिथोल्ने, आफुतिर आकर्षण गर्ने विशेष खुबी भएका तिनीहरु स्वयं मान्छे होइनन् । केवल डमी हुन् जो कुशल कारिगरको हातका कमाल हुन् । जसलाई आधुनिक व्यवसायीहरुली ग्राहक लोभ्याउने विभिन्न उपायहरु मध्ये सजिलो विधिका रुपमा प्रयोग गर्ने गरेका छन् । 

फेन्सी, रेडिमेड कपडाको व्यापारीदेखि सुन व्यवसायीलाई डमी नभई नहुने वस्तु बनिसकेको छ । त्यसबाहेक ठुला व्यापारिक मल हरेकजसो पसल सजाउन डमीको व्यापक प्रयोग हुने गरेको छ । वर्तमानमा डमीमा हुने लगानी पनि व्यापारिक लगानीको एक हिस्सा बन्न पुगेको छ । 

त्यसैले डमीको व्यापारमा लोभिएका एक व्यक्ति हुन, थानकोटका धर्म दास । फाइबर ग्लासको डमी बनाउनमा उनी खप्पिस छन् । यहाँ उनको त्यो कथा प्रस्तुत छ जसले अरुको व्यापार बिकासमा ठुलो योगदान गरेका छन् । अनि, नजानिँदो ढंगले लोभलाग्दो व्यापार गरेका छन् । 

संघर्षको जगमा ठडिएको कद
आजका धर्म दास संघर्षै–संघर्षको जगमा बनेका हुन् । मेहनत र इमान्दारीको इँटाले बनेका छन, धर्म । त्यसैले अतितमा गरेको संघर्ष भुल्दैनन, लुकाउँदैनन् । भन्छन्, ‘मैले गरेको संघर्षबाट अरुले प्रेरणा लिउन् भन्ने चाहन्छु ।’ एउटा मजदूरको रुपमा काम गर्न थालेका दासको जीवन ज्यालादारीमा पनि राम्रैसँग चलिरहेको थियो ।

यसैबीच उनी आफै कारखाना खोल्ने मनस्थितिमा पुगे । मेहनत, इमान्दारी, अध्ययन अनि सकारात्मक सोचका साथ अघि बढ्यो भने सफल भइने दासले बताए ।

पैसा हेरिनँ, काम सिकें 
उमेरले ५५ बर्षका भए धर्म दास तर, अझै युवा जोशका साथ काममा खटिएका भेटिन्छन् । उनले डमी बनाउने कुनै बिशेष तालिम लिएका छैनन् । फेरी पनि उनले बनाएका डमीमा खोट लगाउन कसैले सक्दैन । कसरी प्राप्त भयो यो सीप ? उनी विगतलाई सम्झिदै भन्छन, ‘मैले आजभन्दा १५ बर्ष अगाडि सस्तो ज्यालामा यस्तो डमी बनाउने ठाउँमा काम गरें ।’ उनले थपे, ‘ तलब नै अपत्यारिलो थियो लगभग ३ सय ५० रुपैयाँ मासिक तलब । त्यही पैसाले ५ जनाको परिवार पाल्नुपर्ने । छोरो मान्छे हार भने खाइन मैले । पैसा हेरिन त्यतिबेला किनकी काम सिक्नु थियो।’ 

उनले डमी निर्माण गर्ने कारखानामा निरन्तर काम गरे । कहिले किर्तीपुर पुगे काम गर्न त कहिले सिनामंगल । तर, अहिले भने आफ्नै कारखाना संचालन गरेका छन् । उनले यो कारखाना दुई वर्ष अगाडी स्थापना गरेका हुन् । ‘यदि मैले थोरै तलब छ भनेको भए त कारखाना खोल्न नै सक्दिन थिएँ किनकी मसँग सिप नै हुने थिएन।’ उनी स्विकार्छन् । 

उनले डमी कारखानामा काम गर्न थाल्दा नै आफै मालिक भएर कारखाना चलाउने योजना बनाएका थिएनन् । तर, अहिले उनको डमी कारखाना ढुंगेअड्डामा छ । मासिक ७ हजार भाडा तिर्ने गरी एक रोपनी जमिन भाडामा लेएर उनले सो कारखाना खोलेका हुन् । उनको कारखानामा अहिले चार जना कामदार छन् ।

ग्राहक लोभ्याउने काईदा 
पसल सजाउन काममा मात्र नभएर व्यक्तिगत रोजाइका घरकोठा सजाउन पनि डमीको प्रयोग हुन् थालेको छ । हाल नेपालमा डमी बनाउने धेरै कारखाना छन् । काठमाडौंमा मात्र पनि किर्तीपुर, सिनामंगल, कलंकी र ढुंगेअड्डामा रहेका डमी उद्योगले प्लास्टिकका हाफ र कोहिले फुल डमी समेत उत्पादन गर्ने गरेका छन् । 

त्यसो त उनीहरुले जे चाहिने हो त्यसैलाई डुब्लीकेट गरेर बनाउने गरेका छन् ।  तर, बजारमा भने आयातित डमीहरू नै ग्राहकहरूले मन पराउने गरेको उनको अनुमान छ । 

डमीको बजारबारे समेत राम्रो ज्ञान छ, उनीसँग । त्यसैले उनी भन्छन, ‘चाइनीज र भारतीय डमीहरू फाइबरको हुन्छ । फाइबरको डमी आकर्षक र कहीँ कतै ड्यामेज भए रिपेयर पनि गर्न सकिन्छ । गह्रुँगाभन्दा हलुका बजनका डमीहरू व्यापारीको आँखामा पर्छ ।’ डमीहरू केटा–केटी, बच्चा, युवा–युवती, महिला–पुरुष पाकामान्छे जसको पनि बनाउन सकिन्छ । प्रायः डमीहरू ‘‘फुल र हाफ’ आकारका हुन्छन् । यस्तै, अन्डरवेयर सजाउने डमीहरू ‘मिनि सेप’का पनि हुन्छन् । 

एउटा फेन्सी पसलमा २ देखि १० वटासम्म डमी राखिने गरेको छ । डमीमा राखिने कपडाका भेराइटी हेरेर ग्राहक लोभिने गरेको व्यापारीको बुझाई छ । दाश सुनाउँछन, ‘डे«स र लुक्स राम्रो देखिन डमी चाहिन्छ दाई, हामीलाई राम्रा–राम्रा डमी बनाइदिनुन भन्दै अडर गर्छन् ।’ 

नेपालमा नै फाइबरको डमी उत्पादन गर्न सके मूल्य सस्तो हुने उनको भनाई छ । बजारमा एउटा डमीको न्यूनतम ३ हजारदेखि १४ हजार रुपैयाँसम्म पर्छ । उनी भने हाफ मात्र बनाउने भएकोले होलसेलरलाई एउटा हाफ डमीको एक हजारमा बेच्ने गरेका छन् । व्यापारीले विदेशी भन्दा स्वदेशी अनुहारको डमीलाई रोज्ने गरेको पनि उनले सुनाए । 

नेपालमा डमी बनाउने कच्चापदार्थ भने भारत, चीन  लगायतका देशबाट आउने गरेको छ । एउटा डमी बनाउन फाइवर ग्लास, रेजिन, कुवाल्ट, क्यालरिस, स्टाइरिङ, जलकोट, पिवी, वाक्स पोल, रविन कमाउन्ट लगायतका कच्चा पदार्थ चाहिन्छ । 

विदेशमा लगाउने लगानी नेपालमै 
‘गरिब भएपनि पसिना नेपालमा नै बगाउनु पर्छ भन्ने धारणा छ, मेरो । नेपालमा काम गर्दा लाज हुने र  विदेशमा गर्दा शान हुने त होइन नि ।’, स्पष्ट छ उनको कुरा । उनलाई विदेशभन्दा कुनै कमी छैन नेपालमा । अहिले नेपालमा नै उनि मासिक एक लाख कमाईरहेका छन् । उनले ४÷५ जनालाई रोजगारी पनि दिएका छन् । त्यसबाट आपूm  धेरै सन्तुष्टि भएको उनको भनाई छ । अर्काको देश गएर कामको लागि ढोग्नु परेन, त्यसैमा उनी खुशी छन् । 

यसरी बन्छ आकृति 
डमी बनाउदा साँचोमा ढाल्नु पर्दछ । जस्तो आकृतिको डिमाण्ड हुन्छ त्यसै अनुसारको साँचोमा ढाल्ने काम गर्छन, उनीहरु । ग्राहकको चाहाना र माग अनुरुप डमी बन्छ दाशको कारखानामा । अहिले मलहरु पनि थपिदै गइरहेका हुनाले आफ्नो व्यापार बढ्नेमा उनी ढुक्क छन् । 

दासको तितो अनुभव 
‘सबैभन्दा दुखी म त्यतिखेर हुन्थे जुन बेला कामको शिलशिला मालिकले हेपेर बोल्थे ।’ काम सिक्दाको तितो अनुभव बिर्सेका छैनन, उनले । कुनै पनि व्यक्तिले व्यक्तिलाई हेपेर बोल्नु हुन्न भन्ने उनले मान्यता नै बनाएका छन् । जसले गर्दा उनका कामदार खुशी छन, रमाएर काम गरिरहेका छन् । आफ्ना साहुको नमिठो बचन गढेर बसेको छ उनको मनमा । भन्छन, ‘सके राम्ररी बोल, सक्दैनौ कामको शिलशिलामा कसैलाई नहेप । आफु हेपिएको भएर होला मेरो कारखानामा काम गर्ने साथीहरुलाई म सधै राम्रो व्यवहार गरेर नै बोल्ने गरेको छु ।’ 

आयातले नेपाली ब्रान्डमा धक्का  
चीनबाट आयातित डमीले गर्दा नेपालमा बन्ने डमीको व्यापारीले घाटा बेर्होनु पर्ने देखिएको छ । चीनले  आफ्नै देशमा कच्चा पदार्थ उत्पादन गर्ने भएकोले त्यहाँ सस्तोमा डमी पाईन्छ । ग्राहकले पनि सस्तो र राम्रोतिर नै आखाँ लगाउने भएकाले नेपाली उत्पादकहरु समस्यामा पर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस