लगानीकर्ताका लागि ‘सालको पात टपरी हुने, हे बरै नहुने सल्लैको’ जस्तै भयो वर्ष २०७५ - Aarthiknews
aarthiknews.com सोमबार, १३ माघ २०७६   Monday, 27 January, 2020
 
Bajaj_Bike
लगानीकर्ताका लागि ‘सालको पात टपरी हुने, हे बरै नहुने सल्लैको’ जस्तै भयो वर्ष २०७५

लगानीकर्ताका लागि ‘सालको पात टपरी हुने, हे बरै नहुने सल्लैको’ जस्तै भयो वर्ष २०७५

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ चैत्र २०७५
Sunrise bank
लगानीकर्ताका लागि ‘सालको पात टपरी हुने, हे बरै नहुने सल्लैको’ जस्तै भयो वर्ष २०७५
LBEF

काठमाडौं, चैत २६ ।  वर्ष २०७५ शेयरमा लगानी गर्नेका लागि शुभ रहेन । कुलेन्द्र विश्वकर्मा र विष्णु माझीले गाएको दोहोरी गीत ‘सालको पात टपरी हुने, हे बरै नहुने सल्लैको’ जस्तै भएको छ । अन्य क्षेत्रमा लगानी गरेको भए उच्च प्रतिफल पाउन सकिने सम्भावना रहेको तर शेयरमा लगानी गर्नेले प्रतिफल प्राप्त नहुने (टपरी नहुने सल्लाको पात जस्तै) मा लगानी गरेजस्तो भएको छ । यद्यपि, वर्षको अन्त्यमा आएर शेयर बजार उकालो लाग्ने संकेत देखिएकाले आगामी वर्ष २०७६ साल शुभ रहने संकेत देखिएको छ ।

यो वर्ष लगानीकर्ताले शेयर धितोमा राखेर लिने कर्जाको ब्याजदर बैंकहरुले बढाएकाले शुभ रहन नसकेको निष्कर्ष निकालिएको छ । बैंकहरुले कर्जाको ब्याज बढाउँदा एक वर्षमा शेयर बजार मापक नेप्से ८८.४७ बिन्दुले घटेको छ । २०७५ सालको शुरुदेखि नै शेयर बजार ओरालो लागेका कारण लगानीकर्ताका लागि यो वर्ष निराशाजनक हुन पुग्यो । 

शेयरको मूल्य घट्दा लगानीकर्ताले यो वर्ष ठूलो घाटा बेहोरेका छन् । यो वर्ष २०७५ को शुरुको कारोबारको वैशाख २ गते नेप्से १२८०.१५ बिन्दुमा थियो । त्यो निरन्तर घटेर अहिले अर्थात चैत २५ गते सोमबारसम्म ११९१.६८ बिन्दुमा आइपुगेको छ ।

बजार निरन्तर रुपमा ओरालो लागेपछि लगानीकर्ता यो वर्ष निराश हुन पुगेका हुन् । चारैतिर निराशा छाएका कारण शेयरमा लगानी गर्नेले यो वर्ष कमाउन सकेनन् । नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले सकारात्मक सोचको विकास तथा स्थिर सरकार स्थापना हुँदाहुँदै पनि यो वर्ष २०७५ नेपालको पुँजी बजारको लागि निराशाजनक रहेको बताए ।

‘समग्रमा लगानीकर्ताले यो वर्ष गुमाए । यो वर्ष लगानीकर्ताले बैंकको ब्याजदर १४ प्रतिशतसम्म तिर्न बाध्य भए,’ उनले भने–‘ऋण लिएर लगानी गरेका लगानीकर्ताले कमाउन सकेनन् गुमाउन मात्र पुगे ।’ शेयर बजारमा लगानीको हिसाबले यो वर्ष शुभ रहेन । पुँजी बजारमा लगानी गर्नेले दुःखका साथ यो वर्षलाई बिदाइ गदैछन् ।

नयाँ २०७६ साल कमाइको वर्ष बनोस् भन्ने अपेक्षा गरेका छन् । लगानीकर्ताले एक अर्कालाई नयाँ वर्ष कमाइको वर्ष होस् भन्ने शुभकामना दिँदै हिँड्न थालेका छन् । २०७६ सबै लगानीकर्ताको लागि सुखद् रहोस् भन्ने शुभ–कामना पनि अध्यक्ष रौनियारले दिए । यो वर्ष २०७५ को अन्तिमतिर उकालो लागेकाले पनि आगामी आवको लागि शुभसंकेत देखिएको लगानीकर्ता बताउँछन् ।

यो वर्ष लगानीयोग्य रकम (तरलता) को अभावले शेयर बजारको कारोबार समेतलाई प्रभाव पा¥यो । उच्च दरको ब्याज तिरेर पनि लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट ऋण पाएनन् । यसले गर्दा पनि लगानीकर्ताले घाटा बेहोर्नु पर्यो ।

सरकारले सकारात्मक प्रभाव पार्ने खालका कार्यक्रम नल्याएकाले यो वर्ष शेयर बजार ओरालो लागेको लगानीकर्ताले बताउँछन् । २०७५ सालमा नेप्से मात्र होइन कारोबार रकममा समेत कमी आयो । दोस्रो बजारमा डेढ अर्ब रुपैयाँसम्मको शेयर कारोबार हुँदै आएकोमा यो वर्ष दैनिक औसत २५ करोडमा ओर्लिन पुग्यो । तर, वर्षको अन्तिमतिर भने नेप्सेसँगै कारोबार रकममा समेत बृद्धि भएको छ ।

शेयर धितो राखेर लिएको कर्जाको ब्याज बढेका कारण शेयर बजार ओरालो लागेको एक विश्लेषकले बताए । ‘शेयर बजार निरन्तर घट्नुको प्रमुख कारण नै ब्याजदरमा भएको भारी वृद्धिलाई मानिएको छ,’ उनले भने । बैंकमा लगानी गर्न आवश्यक रकम (तरलता) को कमी हुँदा ब्याज बढ्ने गर्छ । ब्याजदर र शेयर बजार एक अर्कासँग सम्बन्धित हुने गरेको विश्लेषक बताउँछन् । ब्याजदर बढ्दा शेयरको मूल्य घट्छ, ब्याजदर घट्दा बढ्छ ।

ब्याजदर बढेकाले शेयर बजारमा गिरावट आएको धेरै लगानीकर्ताको भनाइ छ । यसअघि ब्याजदर कम थियो । त्यतिबेला शेयरको भाउ पनि बढेको थियो । ब्याजदर बढेसँगै शेयर मूल्यमा शिथिलता आउन पुग्यो । वर्षको अन्तिममा पुँजी बजारमा सरकारले बोनस र हकप्रद शेयरको आधार मूल्यमै लाभकर लिने जस्ता कारणले सिर्जित अन्योलले पनि बजार घटाउन मद्दत पुग्यो । यस्तो व्यवस्था अन्त्य गर्नका लागि लगानीकर्ताले आन्दोलन गर्नु परेको थियो । 

त्यसै गरी शेयर कारोबार गर्न अनिवार्य प्यान चाहिने व्यवस्था गर्न लागिएकोमा लगानीकर्ताको दबाबमा सानो कारोबार गर्नेलाई ऐच्छिक र ठूलो कारोबार गर्नेलाई मात्र नयाँ वर्षदेखि प्यानमा जानुपर्ने व्यवस्था गरिएको छ ।

यो वर्ष लगानीकर्ताले पुँजी बजारको सुधारको माग राखेर अर्थमन्त्री डा. युवराज खतिवडालाई बारम्बार भेट गरे । अर्थमन्त्रीले राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा उच्च स्तरीय सुझाव समिति गठन गर्न पुगेका थिए । त्यो समितिले शेयर बजार सुधारसहितको प्रतिवेदन बुझाएको थियो । लगानीकर्ताले जलविद्युत् आयोजना र होटलको नियामक निकायको गठन गर्नुपर्ने माग गर्दै आएका छन् । नेपाल धितोपत्र बोर्डले नीतिगत रुपमा केही सकारात्मक काम गर्दै आएकाले पनि शेयर बजार आगामी दिनमा सुधार हुने अपेक्षा गरिएको छ ।

नयाँ आर्थिक वर्ष आइतबारबाट शुरु हुँदैछ । २०७५ मा सुखद सन्देश दिन नसकेको शेयर बजारले नयाँ वर्षमा पनि सकारात्मक सन्देश प्रवाह नगर्ने हो कि भन्ने आंशका लगानीकर्तामा छ । मुलुकको एकमात्र पुँजी बजारको दायरा फराकिलो बनाउन उपत्यका बाहिरबाट कारोबार शुरु गरिएको छ । ब्रोकरहरुले मुख्य शहरमा शाखा खोल्दै गएका छन् । बैंकहरुलाई पनि ब्रोकर लाइसेन्स दिन पनि लगानीकर्ताले दबाब दिएका छन् । 

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बैंकलाई ब्रोकर लाइसेन्स दिए रिडरोडभित्र खुम्चिएको शेयर बजार मुलुकका विभिन्न ठाउँमा पुग्ने र बजारको दायरा फराकिले हुने बताइन् । त्यसको सकारात्मक प्रभाव देखिने अपेक्षा उनको छ । शेयर बजार बढ्का लागि अर्थतन्त्रका सूचकमै सुधार हुनुपर्ने भनाइ कतिपयको छ । ‘बजारमा लगानीयोग्य पुँजीको अभाव छ, ब्याजदर बढेको छ,’ एक लगानीकर्ताले भने, ‘यसले गर्दा पनि बजार बढ्न नसकेको हो ।’

शेयर बजारमा विदेशी लगानी खोल्नुपर्ने विज्ञहरुले सुझाव दिँदै आएका छन् । ‘विदेशी लगानीकर्तालाई शेयर बजार खुला गर्नुपर्छ र एनआरएनलाई कार्डकै आधारमा लगानी गर्न दिनुपर्छ,’ एक बिज्ञले भने–‘नेप्सेको कारोबार प्रणालीमा पनि सुधार ल्याउन आवश्यक छ ।’  अनलाइन कारोबार शुरु गरिएको छ । यसले शेयर बजार सुधारमा मद्दत पुग्ने कतिपयको बुझाइ छ । लगानीकर्ताले बैंकको ब्याजदरमा कमी आएमा र विदेशीलाई पनि यसमा लगानी गर्ने वातावरण बने मात्र शेयर बजार बढ्ने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस