शीर्षकहरू

बीमा व्यवसायको आकार पौने २ खर्ब, वृद्धिदर १४ प्रतिशत, ४७ प्रतिशत जनसंख्या बीमाको दायरामा

बीमा व्यवसायको आकार पौने २ खर्ब, वृद्धिदर १४ प्रतिशत, ४७ प्रतिशत जनसंख्या बीमाको दायरामा

काठमाडौं । हाल देशमा सञ्चालित बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको वैशाखमसान्तसम्म कुल १ खर्ब ७६ अर्ब २१ करोड बढी बीमाशुल्क आर्जन गरेका छन् । यो सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्क हो । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बीमाशुल्क संकलन १४.०३ प्रतिशतले बढेको हो । बीमा कम्पनीहरुको गत आवको वैशाखसम्म १ खर्ब ५४ अर्ब ५३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमा शुल्कमध्ये जीवन बीमा कम्पनीहरुले १ खर्ब ४० अर्ब ३५ करोड २ लाख रुपैयाँ तथा निर्जीवन बीमा कम्पनीहरुले ३५ अर्ब ८६ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । गत वर्षको यसै अवधिको तुलनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय १५.५५ प्रतिशत तथा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ८.८६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको वैशाखसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब २१ अर्ब ४६ करोड १४ लाख रुपैयाँ तथा निर्जीवन बीमा कम्पनीहरुले ३३ अर्ब ६ करोड ८७ लाख बीमाशुल्क संकलन गरेका थिए । 

गत वैशाखसम्म जीवन बीमा कम्पनीहरुले ३० अर्ब ९० करोड २२ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् भने बीमा लेख नवीकरणबाट १ खर्ब ९ अर्ब ४४ करोड ८० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । गत आवको वैशाखको तुलनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क २६.९८ प्रतिशत तथा नवीकरण शुल्क १२.६९ प्रतिशतले बढेको हो । 

बीमा कम्पनीहरुले आफ्नो व्यवसाय तथा पहुँच विस्तारका लागि शाखा संजालसँगै कर्मचारी बढाउँदै लगेको अनुपातमा बीमाको पहुँच विस्तारमा भने सामान्य सुधार देखिएको छ । प्राधिकरणले सार्वजनिक गरेको गत वैशाख मसान्तसम्मको बीमा क्षेत्रको विवरणमा पछिल्लो १ वर्षमा बीमा कम्पनीहरुको कार्यालय संख्या १.५२ प्रतिशत तथा कर्मचारी संख्या ४.३२ प्रतिशतले बढेको छ ।

बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्मको तथ्यांक अनुसार बीमाको दायरामा आएको कुल जनसंख्या ४७.३९ प्रतिशत छ । यो म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहितको हो । गत आवको सोही अवधिमा भने ४३.५६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको देखिन्छ ।

प्राधिकरणका अनुसार म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमा बाहेक गत वैशाखसम्म १६.७७ प्रतिशत जनसंख्या मात्रै बीमाको दायरामा आएको देखिन्छ। अघिल्लो वर्षको वैशाखसम्म १७.२८ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका थिए । म्यादी, लघुम्यादी बिमालेखसहित भने गत वैशाखसम्म ३९.३१ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको देखिन्छ । 

गत वैशाखसम्म कुल सक्रिय जीवन  बीमालेखको संख्या भने १ करोड ५३ लाख ६  हजार ९९३ वटा छन् । यस्तै कुल सक्रिय निर्जीवन बिमालेखको संख्या २६ लाख ६६ हजार ८८७ रहेको छ । समीक्षा अवधिमा सक्रिय जीवन बीमालेखको संख्या ९.६८ प्रतिशत तथा कुल निर्जीवन बीमालेखको संख्या ७.५९ प्रतिशतले बढेको छ । तर यस अवधिमा कुल जारी भएका जीवनबीमालेखको संख्या १.९ प्रतिशतले बढेको प्राधिकरणले जनाएको छ ।

null