शीर्षकहरू

आर्थिक न्यूज प्रभाव : कर्मचारीसँग प्राधिकरणले माग्यो बीमा कम्पनीमा काम गर्ने आफन्तको विवरण

आर्थिक न्यूज प्रभाव : कर्मचारीसँग प्राधिकरणले माग्यो बीमा कम्पनीमा काम गर्ने आफन्तको विवरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आफ्ना कर्मचारीहरुसँग बीमा कम्पनीमा काम गर्ने आफन्तहरु तथा परिवार सदस्यहरुको विवरण माग गरेको छ । आर्थिक न्यूजले विभिन्न बीमा कम्पनीमा प्राधिकारणमा कार्यरत प्राधिकारणमा कार्यरत कर्मचारीका आफ्न्त (श्रीमान/श्रीमती) रहेको बिषयमा समाचार प्रकाशन गरेको थियो ।

कतिपय कर्मचारीले बीमा कम्पनीलाई दबाब दिएर आफना परिवारका सदस्यलाई जागिर खुवाएको समेत पाइएको थियो । प्राधिकरणका तत्कालिन अध्यक्ष प्रा.डा.फत्त बहादुर केसीले पनि कर्मचारीसँग यस्तो विवरण माग गरेका थिए । 

आर्थिक न्यूजले गत चैत २१ गते प्राधिकरणका कर्मचारीका आफन्ती भर्ती केन्द्र बने बीमा कम्पनी, कार्यकारी निर्देशकदेखि चालकसम्मले गरे पदको दुरुपयोगशिर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचारमा बीमा कम्पनीमा जागिर खाने प्राधिकरणका कर्मचारीको नाम र बीमा कम्पनीको नाम पनि समाचार प्रकाशन गरिएको थियो ।

उक्त समाचार प्रकाशनपछि प्राधिकरणको सञ्चालक समितिको बैठकमा यस विषयमा विभिन्न पटक छलफल भएको प्राधिकरण स्रोतले बतायो । प्राधिकरणकै कर्मचारीहरुका श्रीमती तथा आफन्तहरु बीमा कम्पनीमा काम गरिरहेको सम्बन्धमा के कस्तो एक्सन लिने भन्ने विषयमा सञ्चालक समितिबीच धेरै पटक छलफल भएको स्रोतको भनाई छ । यसरी पटक पटक छलफल भएपछि गत साता बसेको बोर्ड बैठकले विवरण संकलन गर्ने निष्कर्ष निकालेको हो । 

गत साता बसेको बैठकले सबै कर्मचारीहरुलाई आफ्नो एकाघरका परिवार कुन बीमा कम्पनीमा काम गरेका छन् भनेर सूचि माग गर्ने निर्णय गरेको स्रोतको भनाई छ । जसका लागि कर्मचारीहरुले एउटा फर्म भर्नुपर्ने हुन्छ । सो फर्ममा परिवारको सदस्य, काम गरी रहेको बीमा कम्पनी र काम गरी रहेको अवधि समेत खुलाउनु पर्नेछ । सो फर्म कर्मचारी देखि सञ्चालक समेतले भर्नुपर्नेछ । 

नियामक निकायका कर्मचारीले नियमन गर्नुपर्ने संस्थामा नै एकाघरका परिवार भर्ती गर्दा स्वार्थ बाँझिने जानकारहरु बताउँछन् । संविधान त सबै व्यक्तिलाई रोजगारीको अधिकार छ । तर, नियामक निकायका कर्मचारीले नियमन गर्नुपर्ने संस्थामा नै आफ्ना परिवारका सदस्यलाई जागिर खुवाउँदा स्वार्थ बाझिने स्पष्ट छ । 

प्राधिकरणका केही कर्मचारीले त आफ्नो पदको दुरुपयोग गर्दै बीमा कम्पनी आफना परिवारलाई सदस्यलाई जागिर खुवाउन दबाब दिएको समेत पाइएको छ । यस बिषयमा बीमकहरु भने खुलेर बोल्न चाहँदैनन् । उनीहरु नियमनकारी निकायका कर्मचारीसँग कुनै जोखिम लिन चाहदैनन् । अन्यथा केही कर्मचारीले बार्गेनिङ्ग गरेरै जागिर खुवाउने गरेको एक बीमा कम्पनीका कर्मचारीले बताए । ‘प्राधिकरणमा हाम्रो एउटा फाइल थियो । ती कर्मचारीले फोन गरेर आफनो छोराको लागि जागिर लगाईदिन भने । तर, हाम्रो सञ्चालक समितिले स्वीकार गरेन,’ उनले भने ।