शीर्षकहरू

जतिसक्दो छिट्टै पुटिनलाई भेट्न चाहन्छौँ : राष्ट्रपति ट्रम्प

जतिसक्दो छिट्टै पुटिनलाई भेट्न चाहन्छौँ : राष्ट्रपति ट्रम्प

अबु धाबी (युएई) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जतिसक्दो चाँडो भेट गर्न चाहेको बताएका छन् ।

रुसी नेतालाई भेट्ने विषयमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने, “वातावरण बनेमा म यहाँबाट टर्कीए जानेछु । जतिसक्दो चाँडो हामी यसलाई व्यवस्था मिलाउने कोशिस गरिरहेका छौँ ।” तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक रुस–युक्रेन शान्ति वार्तामा सहभागी हुन आफू टर्कीए जान इच्छुक रहेको ट्रम्पले बताए ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीको भ्रमण गरे पनि रुसी समकक्षीले आमनेसामने वार्ताका लागि गरेको आह्वान अस्वीकार गरेपछि आफू वार्तामा सहभागी नहुने बताएका थिए । जेलेन्स्कीले पुटिनलाई आफू शान्तिप्रति गम्भीर रहेको प्रमाणित गर्न प्रत्यक्ष वार्ता गर्न चुनौती दिएका थिए ।

पुटिनले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा गरेको आक्रमणपछि पहिलो पटक प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए । तर रुसले निम्न स्तरको प्रतिनिधिमण्डल पठाएको थियो । पुटिनलाई भेट्नुको महत्त्वमा ट्रम्पको जोड पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको अडानको ठीक विपरीत छ । उनले केवल युक्रेनले मात्र आफ्नो भविष्यको लागि वार्ता गर्नुपर्छ भन्ने कुरामा जोड दिएका थिए ।  एएफपी