काठमाडौं । प्रति २५ सय नागरिक बराबर एउटा बैक शाखा भएको छ । प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको आर्थिक सामाजिक विकासको अवस्था २०८१ अनुसार विगत तीन दशकको अवधिमा वित्तीय पहुँच विस्तार देखिएको छ । रिपोर्ट अनुसार २०४८ सालसम्ममा प्रति ४७ हजार नागरिक बराबर एउटा बैक शाखा थियो ।
त्यस्तै, रिपोर्ट अनुसार ३० बर्षमा राजश्व संकलन कुल गार्हस्थ उत्पादनको ९ प्रतिशतबाट वृद्धि भई १९ प्रतिशत पुगेको छ । २०४८ सालमा जम्मा १२ वटा बैंक तथा वित्तीय संस्था थिए । तिनका शाखा जम्मा ४४१ थिए । प्रति ४७ हजार भन्दा बढी व्यक्ति बराबर एक बैंक शाखा पर्थ्यो । २०८० सालमा ११२ बैंक तथा वित्तीय संस्थाका करिब १२ हजार शाखा रहेका छन् । वाणिज्य बैंकका मात्रै शाखा पनि २०८० सम्ममा ५ हजार ४९ पुगेका छन् र सबै बैंक तथा वित्तीय संस्थाका शाखा गणना गर्दा प्रति २५ सय व्यक्ति बराबर एउटा बैंक शाखा पर्न आउँको छ । २०५२ साल सम्ममा २१ प्रतिशत नागरिकले आधा घण्टाको दुरीमा बैंक शाखा भेट्थे भने २०८० सालमा ७४ प्रतिशत नागरिकले त्यो सुविधा पाएका छन् । अहिले ७१ प्रतिशत नागरिकको बैंक बचत खाता छ भने २ करोड ६६ लाख खाता मोबाइल बैंकिङमा आबद्ध छन् ।
बीमाको दायरामा उल्लेख्य विस्तार भएको छ । १५ वर्ष अघिसम्म पाँच प्रतिशत नागरिकमा मात्र वीमाको पहुँच पुगेकोमा अहिले ३५ प्रतिशत पुगेको छ । धितोपत्र बजारमा आम नागरिकको पहुँच कैयौं गुणाले बढेको छ । २० वर्ष अघिसम्म शेयर स्वामित्व हुने नागरिक १ लाख पनि नरहेकोमा अहिले ६५ लाख नागरिकका डिम्याट खाता छन्, अर्थात् त्यति नागरिकका नाममा कुनै न कुनै कम्पनीको शेयर स्वामित्व छ ।