काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को ९ महिनासम्ममा जीवन बीमा कम्पनीहरुको व्यापार उल्लेख्य रुपमा वृद्धि भएको छ । चालु आवको चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरुको व्यपार औसतमा करिब १५ प्रतिशतले वृद्धि भएको हो ।
यस अवधिमा १४ वटा जीवन बीमा कम्पनीहरुले १ खर्ब २६ अर्ब १८ करोड रुपैयाँको व्यापार गरेका हुन् । जुन गत आवको सोही अवधिको तुलनामा १४.६२ प्रतिशत बढी हो । गत आवको चैतसम्म कम्पनीहरुले १ खर्ब १० अर्ब ८ करोड रुपैयाँ बराबरको व्यापार गरेका थिए ।
यो अवधिमा व्यवसाय वृद्धिमा राष्ट्रिय जीवन बीमा कम्पनी अगाडि देखिएको छ । यस कम्पनीले गत आवको सोही अवधिको तुलनामा ४९.२५ प्रतिशतले व्यापार वृद्धि गरेको छ । चालु आवको चैत मसान्तसम्म ८ अर्ब १६ करोड रुपैयाँ बराबरको व्यापार गरेको कम्पनीले गत आवको सोही अवधिमा ५ अर्ब ४७ करोड रुपैयाँको व्यापार गरेको थियो ।
यो अवधिमा यसरी व्यापार वृद्धि हुनुका पछाडि एउटै मात्र कारण रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थीले जानकारी दिए । सीईओ पन्थीका अनुसार कम्पनीले नेपाल टेलिकम, नेपाल आयल निगम र खाद्य संस्थानसँग ग्रुप इन्स्योरेन्सको सम्झौता गर्यो । यस कारण ग्रुप इन्स्योरेन्सको पोर्टफोलियो वृद्धि हुँदा समग्र व्यापार वृद्धि भएको सीईओ पन्थीको भनाई छ । यस्तै, आगामी दिनमा अझै वृद्धि हुने अपेक्षा उनले व्यक्त गरे ।
व्यापार वृद्धिको दोस्रो नम्बरमा छ रिलायबल लाइफ इन्स्योरेन्स र तेस्रो नम्बरमा छ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी । रिलायबलको व्यापार १३.७५ प्रतिशतले र नेशनलको व्यापार २१.२६ प्रतिशतले वृद्ध भएको छ । यसैगरी, प्रभु महालक्ष्मी लाइफको १९.९६ प्रतिशत, सिटिजन लाइफको १९.८४, सूर्यज्योति लाइफको १७.३४ र आईएमई लाइफको व्यापार १४.६४ प्रतिशतले वृद्धि भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।