शीर्षकहरू

निर्जीवन बीमाको ९ महिनाको व्यापार करिब ३३ अर्ब, मोटर बीमाबाट मात्रै झण्डै १० अर्ब, कसको कति ?

निर्जीवन बीमाको ९ महिनाको व्यापार करिब ३३ अर्ब, मोटर बीमाबाट मात्रै झण्डै १० अर्ब, कसको कति ?

काठमाडौं ।  निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो ९ महिनाको अवधि अर्थात साउनदेखि चैतसम्म झण्डै ३३ अर्ब रुपैयाँ बराबर बीमा शुल्क संकलन गरेका छन्।नेपाल बीमा प्राधिकरणको चैत मसान्तसम्मको तथ्यांक अनुसार १४ निर्जीवन बीमा तथा ४ वटा लघु बिमा गरी १८ वटा निर्जीवन बीमा कम्पनीहरुले कुल ३२ अर्ब ८१ करोड ६६ लाख ९४ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन्। 

चैत मसान्तसम्ममा १४ बीमा कम्पनीहरुले ३२ अर्ब १२ करोड ९९ लाख ७५ हजार रुपैयाँ र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले ६८ करोड ६७ लाख १९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् । 

यस अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ४ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ । दोस्रोमा सगरमाथा लुम्बिनीले ३ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ । सबैभन्दा कम नेशनल इन्स्योरेन्सले सबैभन्दा कम ८७ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । 

लघु निर्जीवन बीमा कम्पनीमध्येमा भने नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा धेरै १९ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ । ट्रष्ट माइक्रोले सबैभन्दा कम १५ करोड ४० लाख बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा १८ बीमा कम्पनीहरुले कुल २४ लाख १२ हजार ३३१ वटा बीमा लेख जारी गरेका छन् ।

यी कम्पनीहरुले चैत महिनामा मात्रै ४ खर्ब २० अर्ब ४२ करोड ३० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । चैत महिनामा यी कम्पनीहरुले ३ लाख ३८ हजार ८६७ वटा बीमा लेख जारी गरेका छन् ।

मोटर बीमाबाट ९ अर्ब ८२ करोड आम्दानी  

चालु आर्थिक वर्षको ९ महिना अर्थात साउनदेखि चैतसम्मको अवधिमा सबैभन्दा धेरै मोटर बीमावापत कम्पनीहरुले ९ अर्ब ८२ करोड ८७ लाख  बीमा शुल्क संकलन गरेका छन।  यस अवधिमा १२ लाख ७ हजार ४४२ मोटर बीमा लेख जारी भएका छन । जसमध्ये बागमती प्रदेशबाट मात्रै ५ लाख ४५ हजार ६७९ मोटर बीमालेख जारी भएका छन् । बागमती प्रदेशबाट मात्रै यो शीर्षकमा ५ अर्ब ६३ करोड ३१ लाख बीमा शुल्क संकलन गरेका छन् ।

कर्णाली प्रदेशबाट यो शीर्षकमा सबैभन्दा कम ७१३ करोड ७१ लाख बीमा शुल्क संकलन गरेका छन । कर्णाली प्रदेशमा १९ हजार ६८२ वटा मोटर बीमा लेख जारी भएका छन् । 

यस अवधिमा मोटर बीमापछि निर्जीवन बीमा कम्पनीहरुले सबैभन्दा धेरै सम्पत्ति बीमाबाट शुल्क संकलन गरेका छन् । यस अवधिमा सम्पति बीमाबाट मात्रै ८ अर्ब १९ करोड ९७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । 

यसैगरी, ९ महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले इन्जिनियरिङग बीमावापत ५ अर्ब ५६ करोड, विविध बीमा वापत ३ अर्ब ५७ करोड, सामुन्द्रिक बीमा वापत १ अर्ब ८९ करोड, कृषि बीमावापत १ अर्ब २३ करोड, हवाई बीमावापत १ अर्ब ८१ करोड तथा लघु बीमावापत ६९ करोड ९७ लाख बीमा शुल्क संकलन गरेका छन् ।