इनरुवा । सुनसरीगढी गाउँपालिका–५ का अनुरुप उराँवले सात कठ्ठा जग्गामा लौकाखेती गरी एक याममा चार लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।
वार्षिक २० हजारमा अरुसँग सात कठ्ठा जग्गा भाडामा लिएर लौकाखेती गरेको बताउँदै उहाँले सात कट्ठाका जग्गामा पाँच सय लहरा लौका रोपेको जानकारी दिए । ती बिरुवा रोप्दा ५० हजार लगानी भएको बताए ।
बीउ, खाद्यमल, पानी, खेती तयारीलगायत खेती र बारी व्यवस्थापनमा रु ५० हजार खर्च भएको भन्दै उनले एक याममा चार लाखसम्म आम्दानी हुने जानकारी दिए । युवा विदेश पलायन भइरहेको, केही ठगीमा परेको समाचार बाहिर आइरहेका बेला कम लगानीमा चार लाखसम्म आम्दानी हुने भन्दै उहाँले युवालाई स्वदेशमै स्वरोजगार बन्न आग्रह गरे ।
उराँवले भिरालो जग्गामा तीन महिनादेखि बर्षभरि फल्ने कदुखेतीबाट थोरै लगानीमा धेरै आम्दानी गर्न सफल भएको बताए । गाउँपालिका क्षेत्रमा पहिलो पटक भाडा जग्गामा लिएर लौकाखेती गरेको उनले बताए । लौका सुरुमा प्रतिगोटा ८० मा बिक्री गरेकामा अहिले २० देखि २५ मा बिक्री हुँदा पनि चार लाख आम्दानी भइरहेको उनले उल्लेख गरे ।