काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीइआबी) को झण्डै १८ अर्ब रुपैयाँ बराबरको अवैध कारोबारमा संलग्न २१ जनालाई नियन्त्रणमा लिएको छ । टोलीले ११ जिल्लाबाट उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ कारोबार गरेको खुलेको छ ।
उनीहरुले आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषण बापत् प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरेको पाइएको छ । उनीहरुले आन्तरिक विप्रेषणको नाममा नेपालमा अवैध कारोबार (भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा संलग्न रहेको प्रहरीको अनुसन्धानमा देखिएको छ।
त्यस्तै, अवैध कारोबार बापत प्राप्त गरेको गैर कानूनी रकमलाई डिजिटल वालेट (सजिलो पे र पेवेल नेपाल प्रालि) कम्पनीको नाममा नेपालमा रहेका बैंक खाताहरुमा जम्मा गर्नको लागी ’मनी मुल’ हरुलाई परिचालन गरेको देखिएको छ ।
उनीहरुले यसरी ठुलो परिमाणमा नगदै रकम खातामा ’प्लेसमेन्ट गरि सो रकमलाई विभिन्न भुक्तानी गर्न अनुमति लिएका मनि ट्रान्फरहरुले वालेट कम्पनीहरु मार्फत ’इ–मनी’ बनाउने गरेका थिए । त्यसपछि रकमलाई रेमिटन्स बापत् भुक्तानी पाउनु पर्ने विदेशमा रहेका नेपाली कामदार तथा विद्यार्थीहरुका नेपालमा रहेका आफन्तहरुको खातामा ट्रान्सफर गरेर सो बापतको रकम हिसाब मिलान गरेको देखिएको छ । सीआइबीले यसअघि दुई वालेटका संचालक र कर्मचारीलाई पक्राउ गरि अनुसन्धान गरेको थियो ।