काठमाडौं । १० अर्बभन्दा बढी भ्रष्टाचार भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको छानविन गर्न बनेको संसदीय उपसमितिले प्रतिवेदन बुझाएको छ । विमानस्थल निर्माणका क्रममा भएको अनियमितताका सम्बन्धमा स्थलगत अध्ययन गरि तयार गरेको प्रतिवेदन लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई बुझाएको हो । लेखा समितिले गठन गरेको संसदीय उपसमितिका संयोजक एवं राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले विमानस्थलको अध्ययन प्रतिवेदन लेखा समितिमा बुझाएका हुन ।
गत असार १४ गते प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन-अनुगमन र छानविन गरी रायसहितको प्रतिवेदन बुझाउन उपसमिति गठन गरेको थियो । छानविन समितिमा संयोजक लिङदेन रहेका थिए ।
त्यस्तै, अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्य थिए । उक्त विमान स्थल बनाउन २४ अर्ब खर्च भएको थियो । विमानस्थल २०७९ पुसमा निर्माण सम्पन्न भएर उदघाटन भएपनि हालसम्म व्यवसायिक रुपमा नियमित उडान हुन सकेको छैन ।