शीर्षकहरू

बीमा कम्पनीमा मौलिकता अभाव : कपी गरिएको पोलिसीमै सीमित

बीमा कम्पनीमा मौलिकता अभाव : कपी गरिएको पोलिसीमै सीमित

काठमाडौं । बीमा कम्पनीहरुले बीमा पोलिसी कपी गर्दै विक्री गर्ने गरेका छन् । मौलिक बीमा पोलिसी निर्माण गर्ने भन्दा पनि अन्य कम्पनीको पोलिसीलाई नै कपी गरेर विक्री गर्ने गरेका छन् । 

बीमा ऐनले बीमा कम्पनीहरूलाई नै बीमा पोलिसी निर्माण गर्ने अधिकार दिएको छ । कम्पनीहरूले आफूखुसी पोलिसी निर्माण गरी विक्री गर्न पाउँछन् । तर, कम्पनीहरू नयाँ बीमा पोलिसी निर्माणमा खासै उत्साहित नदेखिएको नेपाल बीमा प्राधिकरणकी निर्देशक पुजन ढुङगेलले बताइन् । 

बीमाको अन्तराष्ट्रिय अभ्यास अनुसार कम्पनीहरूले भिन्न भिन्न खालका पोलिसी निर्माण गरी फरक पेशा वा क्षेत्रका बीमितलाई आकर्षित गरिन्छ । मानिसको उमेर, वर्ग, पेशा, क्षेत्र, सँस्कृति अनुसार पोलिसी बनाउन सकिन्छ । एउटा पोलिसीले आकर्षित गर्न नसकेको मानिसलाई अर्को पोलिसीले आकर्षित गर्न सकिन्छ । तर, नेपालमा सञ्चालित बीमा कम्पनीहरुमा यस्तो खालको अभ्यास कमै हुने गरेको उनले बताइन् । 

कम्पनीहरूले पोलिसी निर्माण गर्नु अघि गहन अध्ययन गर्नुपर्ने प्राधिकरणकी निर्देशक ढुङगेलले बताइन् । कम्पनीहरूले सम्भावित सेवाग्राहीको सर्भे, फोकस ग्रुप डिसकसन गर्न सक्नेछन् । अध्ययनबाट प्राप्त प्रतिक्रिया र बीमा बजार बीचको ग्याप विश्लेषण गर्ने, अन्तराष्ट्रिय अभ्यास अध्ययन, भौगोलिक बनावट, लक्षित वर्गको बुझाई, नेपालको मृत्युदर तथ्यांकको विश्लेषण, लक्षित वर्गको पेशा, आम्दानी लगायतको विश्लेषण गरेर पोलिसी निर्माण गर्न सकिन्छ । 

कम्पनीहरुले सेवाग्राहीलाई मात्रै नभएर कम्पनीलाई फाइदा हुने गरी पोलिसी बनाउनु पर्छ । पोलिसी विक्री गरेपछि सेवाग्राहीले सुविधा पाउनुको साथै कम्पनीले नाफा आम्दानी गर्न सक्ने पनि हुनुपर्ने निर्देशक ढुङगेलले बताइन् । ‘कम्पनी पनि चल्नु पर्छ । पोलिसी विक्री गर्नु कम्पनीको मुख्य व्यवसाय हो । व्यवसायबाट आम्दानी पनि हुनुपर्छ,’ उनले भनिन्  । 

कम्पनीले विभिन्न पक्षको अध्ययन र विश्लेषण गरेपछि पोलिसी बनाएर स्वीकृतिको लागि प्राधिरकणमा पठाउनुपर्छ । प्राधिकरणले ६० दिन भित्रमा स्वीकृति दिनुपर्ने प्रावधान छ । प्राधिकरणले पनि पोलिसीको अध्ययन गरेर पछि उचित लागेमा स्वीकृति दिने निर्देशक ढुङगेलले बताइन् । ‘प्राधिकरणले पोलिसीको अध्ययन गर्दा पोलिसीको उपयोगिता र नाफामुखी भए नभएको हेर्छ,’ उनले भनिन् । समय समयमा पोलिसीको मूल्याङकन पनि गर्नुपर्छ । 

पोलिसी बनाउदा बीमाङकीले मूल्याङकन गर्नुपर्छ । तर, नेपालमा बीमाङकीको उपलब्धता कम भएका कारण पनि नयाँ पोलिसी आउन नसकेको उनले बताइन् । ‘नेपालमा बीमाङकी छैनन । अन्य मुलुकका बीमाङकीसँग काम गर्दा धेरै खर्च हुन्छ,’ उनले भनिन् । 

नेपालका अधिकांश बीमा कम्पनीले भारतीय बीमा पोलिसीको कपी गर्ने गरेको बीमकहरु बताउँछन् । नेपालकै कुनै कम्पनीले नयाँ पोलिसी ल्यायो भने अन्य कम्पनीले पनि सोही पोलिसी कपी गर्ने गरेको एक बीमा कम्पनीका अधिकारीले बताए ।

बीमा पोलिसी भनेको जोखिम हस्तान्तरण गर्ने उपकरण हो । त्यसैले यस्तो पोलिसी समसामायिक र लक्षित वर्गकाको लागि सुहाउने खालको हुनुपर्ने बीमा विज्ञ डा.रबिन्द्र घिमिरले बताए । ‘भारतको बीमा पोलिसी ठ्याक्कै नेपालको लागि नसुहाउने हुन सक्छ । त्यहाँको मानिसको जीवन शैली र नेपालीको जीवन शैली फरक हुन्छ,’ उनले भने । त्यसैले कम्पनीहरुले आफनै पोलिसीलाई बढी प्राथमिकता दिनु पर्छ ।    

कम्पनीहरूले क्षेत्र अनुसार पनि पोलिसी बनाउनु पर्छ । पूर्व र पश्चिमका मानिसहरुको आवश्यकता फरक फरक हुन्छ । त्यसैले उनीहरुको लागि बीमा पोलिसी पनि फरक फरक खालको बनाइनु पर्ने उनले बताए । तर, नेपालमा कम्पनीहरूले अध्ययन र अनुसन्धानमा कम लगानी गर्ने र नाफामा मात्रै बढी जोड दिने हुँदा रचनात्मक पोलिसी आउन नसकेको उनले बताए ।