शीर्षकहरू

निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पुर्‍याएको छ : सभापति देउवा

निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पुर्‍याएको छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पुर्याएको बताएका छन्। कांग्रेसको उद्योग तथा व्यापार विभागद्वारा आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका हुन्।

साथै निजी क्षेत्रले उठाएका ‘एजेन्डा’ सम्बोधन गर्न सरकारले सहयोग गर्नुपर्ने बताए। स्वदेशमा उत्पादित वस्तु बजार प्रबद्र्धन गर्न उद्योग व्यवसायलाई प्रबद्र्धन गर्नुपर्ने सभापति देउवाको भनाइ छ।

कार्यक्रममा बोल्दै उनले भने, ‘स्वदेशी वस्तुको उत्पादन बढाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ, रोजगारी बढाउन निजी क्षेत्र र सरकारबीच समन्वय आवश्यक छ।’ त्यस्तै डिजिटल अर्थतन्त्रले पनि ठूलो हिस्सा निजी क्षेत्रले ओगटेको उनले जनाएका छन्।

‘आगामी आर्थिक वर्षको बजेट डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्ने किसिमको हुनुपर्छ, यसबाट सूचना प्रविधिको प्रबद्र्धनमा टेवा पुग्ने छ’ सभापति देउवाले थपे। साथै आगामी आवको बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्ने र आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन्।

उता कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता समीकरणलाई निरन्तरता दिने दाबी गरेका छन्। अहिलेको सत्ता समीकरण अघि बढ्ने तर, त्यसका लागि सरकारले मन जित्ने गरी काम गर्ने उनको भनाइ छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण राज्यले तयार गर्नुपर्ने बताए। साथै सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न निजी क्षेत्रले सहकार्य गर्दै अगाडि बढ्ने पनि अध्यक्ष ढकालको भनाइ छ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले विदेशी नागरिकलाई ‘अपार्टमेन्ट’ बिक्री गर्दा फाइदा हुने भन्दै यसबाट पर्यापर्यटनको विकासमा पनि सहयोग पुग्ने जनाएका छन्। कृषिमा वैदेशिक लगानी भित्र्याउन नीति अवलम्बन गर्न आवश्यक रहेको समेत वरिष्ठ उपाध्यक्ष मल्होत्राको भनाइ छ। रासस