शीर्षकहरू

ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाइने :मन्त्री दीपक खड्का

ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाइने :मन्त्री दीपक खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले ग्रीन हाइड्रोजनको सम्भावना नेपालका लागि निकै महत्वपूर्ण भएको भन्दै यसलाई कार्यविधिमार्फत अघि बढाइने स्पष्ट गरेका छन् । “ग्रीन हाइड्रोजन नेपालको ऊर्जा क्षेत्रमा क्रान्तिकारी अवसर हो । यसलाई व्यवस्थित ढंगले अघि बढाउन कार्यविधि निर्माणका लागि आवश्यक अध्ययन अनुसन्धान थालिसकेको छ,” मन्त्री खड्काले भने ।

उनको पहलमा काठमाण्डौ विश्वविद्यालयका प्राध्यापकहरूको सहजीकरणमा मन्त्रालयमा ग्रीन हाइड्रोजनसम्बन्धी विशेष प्रस्तुतीकरण र छलफल सम्पन्न भएको हो। छलफलमा मन्त्री खड्काले वातावरण संरक्षण तथा शून्य कार्बन उत्सर्जनको राष्ट्रिय लक्ष्य हासिल गर्न ग्रीन हाइड्रोजनको उपयोग अपरिहार्य रहेको धारणा राखे ।

छलफलमा ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले मन्त्रालयले ग्रीन हाइड्रोजनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरी अनुसन्धान अगाडि बढाइरहेको जानकारी दिनुभयो। उहाँले वातावरणमैत्री प्रविधिको प्रयोगले ईटा भट्ठा र केमिकलजन्य उद्योगहरूबाट हुने प्रदूषण कम गर्न सकिनेमा जोड दिए।

त्यस्तै, सिंचाई सचिव सरीता दवाडीले नीति निर्माण भइसकेको र अब कानुनी र संस्थागत संरचना तयार पार्दै कार्यान्वयनमा लैजाने बताए । उनले अन्तरमन्त्रालय समन्वयमा सरकारले आवश्यक कानुनी प्रबन्ध गर्न तत्पर रहेको स्पष्ट पारे ।

कार्यदलका संयोजक एवं सहसचिव जिवछ मण्डलले ग्रीन हाइड्रोजन विश्वका धेरै देशहरूले सफलतापूर्वक उपयोग गरिरहेको उल्लेख गर्दै नेपालमा पनि यसको ठूलो सम्भावना रहेको धारणा राखे ।

काठमाडौँ विश्वविद्यालयका ग्रीन हाइड्रोजन ल्याबका प्रा.डा. विराज सिंह थापाले नेपालमा ग्रीन हाइड्रोजन उत्पादन अन्तर्राष्ट्रिय तुलनामा सस्तो पर्ने भएकाले यसलाई शीघ्र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । उनका अनुसार जापान, कोरिया, भारत र युएईजस्ता देशहरू यस प्रविधिलाई व्यवहारमा ल्याइसकेका ल्याइसकेका छन्, र नेपाल पनि पछि नपर्ने अवसर अहिले नै रहेको छ ।