शीर्षकहरू

वैदेशिक व्यापार : निर्यात ६५ प्रतिशतले बढ्यो, ९ महिनामा करिब १५ खर्बको व्यापारमा सवा ११ खर्ब घाटा

वैदेशिक व्यापार :  निर्यात ६५ प्रतिशतले बढ्यो, ९ महिनामा करिब १५ खर्बको व्यापारमा सवा ११ खर्ब घाटा

काठमाडौं । चालु आर्थिक वर्षमा निर्यात व्यापारमा क्रमश सुधार देखिएको छ । गत वर्षको यसै अवधिको तुलनामा चालु आवको फागुनसम्ममा नेपालबाट हुने निर्यात ६५.१६ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको ९ महिनाको विवरण अनुसार केही महिना यता निर्यात व्यापारमा निरन्तरत सुधार आएको छ ।  

विभागका अनुसार चालु आवको ९ महिनाको अवधिमा नेपालबाट १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत वर्षको ९ महिनाको अवधिमा १ खर्ब १३ करोड ९४ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । गत आवको तुलनामा निर्यात ६५.१६ प्रतिशतले बढेको हो । 

विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिनासम्ममा मुलुकले १३ खर्ब ९५ करोड ३२ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । गत आवको यसै अवधिको तुलनामा चालु आवको चैत महिनासम्म कुल आयात १२.१८ प्रतिशतले बढेको हो । 

चालु आर्थिक वर्षको ९ महिनासम्ममा नेपालको व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ बराबर रहेको छ । गत वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा ६.४५ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो । 

९ महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ बराबरको  भएको छ । गत वर्षको यही अवधिमा १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । वैदेशिक व्यापार १६.८९ प्रतिशतले बढेको हो । वैदेशिक व्यापार बढेसँगै व्यापार घाटा पनि बढेको छ । वैदेशिक व्यापारमा निर्यातको हिस्सा १२.५७ प्रतिशत तथा आयातको ८७.४३ प्रतिशत रहेको छ । 

null