काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात साउनदेखि चैतसम्मको ९ महिनाको अवधिमा २० वाणिज्य बैंकहरुले ४१ अर्ब २४ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको यसैअवधिको तुलनामा १.४ प्रतिशत धेरै हो । गत वर्षको ९ महिनामा बैंकहरुले ४० अर्ब ६७ करोड ९० लाख रुपैयाँ नाफा कमाएका थिए ।
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ११ वटा बैंकको नाफा बढेको छ भने ९ वटाको घटेको छ । राष्ट्रिय वाणिज्य, स्टान्डर्ड चार्टर्ड, हिमालयन, एनआइसी एशिया, कुमारी, सिद्धार्थ, कृषि, सिटिजन्स र प्राइम बैंकको नाफा खुम्चिएको छ। सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा नबिल बैंक अग्रस्थानमा रहेको । नबिलले ५ अर्ब ५ करोड नाफा कमाएको छ । दोस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगाले ४ अर्ब ५४ करोड नाफा कमाउदा ग्लोबल आइएमईले ४ अर्ब ५३ करोड नाफा कमाएकोे छ ।
यस अवधिमा सबैभन्दा कम नाफा एनआइसी एशिया बैंकको छ । एनआईसी एशियाले १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जसको नाफा झण्डै ९२ प्रतिशतले घटेको छ । बैंकहरुको खराब कर्जामा बढ्दा इम्पेयरमेन्ट चार्जमा अत्याधिक रकम व्यवस्थापन गर्नुपर्दा नाफा प्रभावित भएको हो ।
चोथौं स्थानमा रहेको एभरेष्ट बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा गरेको छ । यस्तै नेपाल बैंक लिमिटेडले २ अर्ब ७८ करोड रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ३७ करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकले २ अर्ब २२ करोड रुपैयाँ, स्टाण्डर्ड चार्टर्ड बैंकले २ अर्ब १७ करोड रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८७ करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ८४ करोड रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब ६६ करोड रुपैयाँ, सानिमा बैंकले १ अर्ब ६५ करोड रुपेयाँ खुद नाफा गरेका छन्।
यसैगरी लक्ष्मी सनराइज बैंकले १ अर्ब ६५ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २० करोड रुपैयाँ, नेपाल एसविआई बैंकले १ अर्ब २० करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब १० करोड रुपैयाँ, सिटिजन्स बैंकले ९६ करोड रुपैयाँ, हिमालयन बैंकले ५० करोड रुपैयाँ, कुमारी बैंकले ३८ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेका छन्। यस अवधिमा सबैभन्दा कम खुद नाफा एनआईसी एशिया बैंकले १५ करोड ७६ लाख रुपैयाँ गरेको छ।