शीर्षकहरू

नेको इन्स्योरेन्सको अवितरित हकप्रद शेयर वैशाख १२ देखि लिलाममा

नेको इन्स्योरेन्सको अवितरित हकप्रद शेयर वैशाख १२ देखि लिलाममा

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले वैशाख १२ गते अवितरित हकप्रद शेयर लिलाम गर्ने भएको छ।  कम्पनीले २ लाख २५ हजार २ सय ६१.३५ कित्ता शेयर लिलाम गर्न लागेको हो ।

जस मध्ये १ लाख ८१ हजार ४ सय ८१.८३ कित्ता शेयर सर्वसाधारण समुहको छ भने बाँकि ४३ हजार ७ सय ७९.५२ कित्ता शेयर संस्थापक समुहको छ। यस लिलामीको शेयरमा वैशाख २१ गतेसम्म आवेदन दिन सकिने छ।

शेयर लिलाम प्रक्रियाको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ। सानिमा क्यापिटलको काठमाडौँको नक्साल स्थित कार्यालय र विराटनगर शाखाबाट आवेदन दिन सकिने छ।  त्यस्तै नेको इन्स्योरेन्सको बिर्तामोड, बिरगंज, जनकपुर , भरतपुर, हेटौडा, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ।

शेयरको न्यूनतम् मूल्य १०० रुपैयाँ तोकिएकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ।  सर्वसधारण समुहको हकमा न्युनतम १०० कित्ता र संस्थापक समुहको हकमा न्युनतम १००० कित्ताको लागि आवेदन दिनु पर्ने छ। सबै भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनेले सुरुमा शेयर पाउने छन् ।  त्यसपछि दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ र यसैगरि क्रमश शेयर बाँकि रहेसम्म शेयर बाँडफांड हुने छ।

कम्पनीको हकप्रद शेयर गत चैत्र ३१ गते  बाँडफाँड गरिएको थियो । कम्पनीले फागुन ८ गतेदेखि चैत्र १४ गतेसम्म चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने  ५० करोड ३० लाख ९० हजार १ सय ५५ रुपैयाँको ५० लाख ३० हजार ९ सय १ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।

सो निष्काशनमा रितपुर्वक आवेदन दिने शेयरधनीलाई ४८ लाख ५ हजार ६ सय ४० दशमलव २० कित्ता हकप्रद बाँडफाँड गरिएको थियो। यस संगै अब हकप्रदमा बिक्री नभएको २ लाख २५ हजार २ सय ६१ दशमलव ३५ कित्ता शेयर लिलाममा आएको हो ।