काठमाडौं। नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । मंगलबार उच्च मूल्य रेकर्ड बनाइरहेको सुन आज प्रतितोला १ लाख ७६ हजार रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्य कायम भएको छ । अघिल्लो दिन १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । अमेरिकी डलरको मूल्यवृद्धि, अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रम लगायतका कारणले सुनको मूल्य बढेको जानकारहरु बताउँछन् ।
चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन २ हजार ५० रुपैयाँ रहेको चाँदी आज २ हजार ४५ रुपैयाँमा झरेको छ ।