शीर्षकहरू

कृषि उत्पादन वृद्धि: मन्त्री अधिकारी

कृषि उत्पादन वृद्धि: मन्त्री अधिकारी

काठमाडौँ :कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि यन्त्रीकरण र व्यावसायीकरणका विभिन्न कार्यक्रमबाट खाद्यान्न, तरकारी, फलफूललगायत कृषिउपजको उत्पादन वृद्धि भएको बताउनुभएको छ।

राष्ट्रियसभामा सांसद भुवनबहादुर सुनारको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले चालु आर्थिक वर्षमा धान उत्पादन गत वर्षभन्दा २ लाख ३१ हजार मेट्रिक टनले बढेर ५९ लाख ५५ हजार मेट्रिक टन पुगेको जानकारी दिनुभयो। ताजा तरकारी र फलफूल उत्पादन तथा उत्पादकत्वसमेत वृद्धि भइरहेको उल्लेख गर्नुभयो।

उहाँका अनुसार हाल स्वदेशी उत्पादनले बजारको हिस्सा बढाउँदै लगेको छ। स्याउ, सुन्तला, केरा, आँपलगायतका फलफूल तथा वर्षभर ताजा तरकारी उपलब्ध हुनु सकारात्मक पक्ष हो।

पशुजन्य उत्पादनमा पनि मुलुक आत्मनिर्भरतातर्फ अघि बढिरहेको छ। चालु आर्थिक वर्षमा दूध उत्पादन २६ लाख १६ हजार मेट्रिक टन, माछा १ लाख १९ हजार मेट्रिक टन, मासु ४ लाख ३१ हजार मेट्रिक टन, र अण्डा १ अर्ब ६० करोडभन्दा बढी रहेको मन्त्री अधिकारीले जानकारी गराउनुभयो।

बढ्दो जनसंख्या र विविधताका कारण कृषिउपजको माग पूर्ण रूपमा स्वदेशी उत्पादनले पूर्ति गर्न नसकेको उल्लेख गर्दै उहाँले धान-चामल, गहुँ, मकै, आलु, प्याज, लसुन र केही मात्रामा फलफूलको आयात भइरहेको बताउनुभयो।

कृषि उत्पादन वृद्धिका लागि सरकार योजनाबद्ध पहल गरिरहेको उहाँले बताउनुभयो। बाली क्षेत्रफल विस्तार, सिंचाइ विस्तार, उन्नत बीउविजन तथा मलको सहज उपलब्धता, उत्पादन लक्ष्यित अनुदान, उन्नत जात तथा पशु नश्ल प्रवर्द्धन, बाली विशेष कार्यक्रमहरू सञ्चालन जस्ता उपायहरू अवलम्बन गरिएको छ।

रसायनिक मल आपूर्तिलाई प्राथमिकतामा राखिएको छ। स्वदेशमै मल कारखाना स्थापनाका लागि अहिलेसम्म कुनै सरकारले बजेट विनियोजन नगरे पनि हालको सरकारले सम्भाव्यता अध्ययन अघि बढाएको मन्त्री अधिकारीले बताउनुभयो।

कृषि उत्पादन तथा उत्पादकत्व बढाएर आत्मनिर्भर बन्ने र निर्यात प्रवर्द्धन गर्ने लक्ष्यसहित मन्त्रालयले गुणस्तरीय स्रोत सामग्रीमा कृषकको पहुँच वृद्धि, बाँझो तथा खेतीयोग्य जमिनमा फलफूलखेती विस्तार, स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण, र विशेष उत्पादन क्षेत्र निर्धारण गरी कार्यक्रमहरू सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो।