शीर्षकहरू

यस्तै अवस्था रह्यो भने नेपाल २ वर्षपछि एफएटीएफ को ब्ल्याक लिस्टमा पर्छः अर्थविद् डा. कार्की

यस्तै अवस्था रह्यो भने नेपाल २ वर्षपछि एफएटीएफ को ब्ल्याक लिस्टमा पर्छः अर्थविद् डा. कार्की

काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी तथा वर्किङ ग्रूपले नेपाललाई सम्पत्तिशुद्धीकरण तथा आतङ्कवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट) मा राखेको छ । ‘एफएटीएफ’ को ग्रे लिस्टमा पर्दा मुलुकमा आर्थिक, राजनीतिक, वित्तीय र कुटनीतिक क्षेत्रमा नकारात्मक असर पर्ने जानाकारहरु बताउँछन् । योसँगै नेपाल दोस्रो पटक ग्रे लिस्टमा परेको हो । 

नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष तथा अर्थविद् डा.रेवतबहादुर कार्कीले एफएटीएफले ४० वटा परिसूचक निर्धारण गरेकोमा नेपालले २१ वटामात्रै परिपालन गर्न सकेको, १६ वटा आंशिक र ४ वटा परिपालन हुँदै नभएको बताए । अहिले नेपालको अर्थतन्त्र एकदमै अप्ठ्यारो अवस्थामा रहेको उनले बताए । डा. कार्कीका अनुसार अहिले नेपालमा राजश्वकको स्थिति डामाडोल रहेको, खर्च घटाउन नसकिएको र ठूलो नीतिगत अस्थिरता रहेको, लगानीको वातावरण नरहेको अवस्था छ । 

सरकारको गतिविधिकै  कारण नेपाल ग्रे लिस्टमा परेको उनको दाबी छ । वर्तमान सरकारले पनि कुनै सुधारको काम गर्न नसकेको डा.कार्कीले बताए । उनले अहिले सरकार नै भ्रष्टाचारको केन्द्रजस्तो बनिरहेको टिप्पणी गरे । ‘अहिले सरकार नै भ्रष्टाचारको केन्द्रजस्तो पनि भइराखेको छ । कुनै सुधारहरु छैन, आफ्नो मान्छेलाई कारबाही नहुने, अरुलाई कारबाही हुने, ‘रुल अफ ल’ को मतलब नै नहुने, यो सरकार बनेको पनि सात÷आठ महिना भइसक्यो, अहिलेसम्म सम्पति सार्वजनिक भएको छैन,’– उनले भने । 

साथै, घरजग्गा कारोबार, क्यासिनो, शेयर बजार र सहकारीमा एफएटीएफले आशंका गरेको उनले बताए । उनले यसमा सरकारले विशेष निगरानीमा पुर्याउनुपर्ने बताए । अहिले एफएटीएफको स्पेसल निगरानीमा नेपाल र लाओस रहेको उनले सुनाए । 

सरकारले ऐन, कानुन कार्यान्वयनमा कडाइ गर्नुपर्ने, घरजग्गा कारोबार बैंकिङ च्यानलमार्फत मात्रै गरिनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, एफएटीएफले तोकेका सबै सूचकहरुको प्रभावकारी कार्यान्वयन गराएर देशलाई दुई वर्षभित्र ग्रे लिस्टबाट हटाउन सकिने उनको सुझाव छ । उनले अहिलेकै अवस्थामा सुधारको कुनै स्थिति नरहेको बताए । यस्तै अवस्थामा रहे नेपाल अबको २ वर्षभित्र ब्ल्याक लिस्टमा पर्ने उनको चेतावनी छ । 

‘अर्थतन्त्र नाजुक अवस्थामा गइराखेको छ । आन्तरिक ऋण बढेकोबढ्यै छ । ऋण लिएर अनुत्पादक क्षेत्रमा लगानी भइरहेको छ । यस्तो अवस्थाबाट नेपाल गुज्रिराखेको छ ।  यो सुधार हुने भन्दा पनि २ वर्षपछि हामी सजिलै ब्ल्याक लिस्टमा जाने मलाई लागिराखेको छ,’– उनले भने ।