शीर्षकहरू

कुल वैदेशीक लगानी प्रतिबद्धतामध्ये ४४ प्रतिशत पर्यटन क्षेत्रमा

कुल वैदेशीक लगानी प्रतिबद्धतामध्ये ४४ प्रतिशत पर्यटन क्षेत्रमा

काठमाडौं । चालु आवको ७ महिनामा आएको कुल लगानी प्रतिबद्धतामध्ये पर्यटन क्षेत्रमा ४४ प्रतिशत देखिएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा करिब २७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएकोमा पर्यटन क्षेत्रका १६८ वटा उद्योगहरुका लागि १७ अर्ब ३२ करोड ७५ लाख ९० हजार बराबरको लगानी प्रतिवद्धता आएको हो ।

विभागका अनुसार ७ महिनाको अवधिमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा प्राप्त भएको हो । यस्तै सूचना प्रविधि क्षेत्रमा १३४ वटा उद्योगका लागि ८० करोड ६८ लाख ६३ हजार लगानी आएको छ । जुन कुल प्रतिबद्धताको ३५ प्रतिशत हो । सेवा क्षेत्रका ४८ वटा उद्योगका लागि ५ अर्ब ६९ करोड ८७ लाख ३० हजार लगानी प्रतिबद्धता प्राप्त भएको छ । यो १२ प्रतिशत हुनआउँछ । 

उत्पादन क्षेत्रका २७ वटा उद्योगका लागि २ अर्ब १२ करोड २० लाख ५० हजार रुपैयाँ, कृषिका ६ वटा उद्योगका लागि ७४ करोड १० लाख, पूर्वाधार क्षेत्रको २ उद्योगका लागि १२ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । उत्पादन क्षेत्रका २७ वटा अर्थात ७ प्रतिशत, कृषिका ६ वटा अर्थात २ प्रतिशत तथा पूर्वाधार क्षेत्रको २ उद्योगका लागि वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

चालु आर्थिक वर्षको ७ महिनामा नेपालले करिब २७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेकोे छ । विदेशी लगानीकर्ताहरुले साउनदेखि माघसम्म विभागको प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट २४ अर्ब २१ करोड तथा स्वचालित प्रणालीबाट २ अर्ब ६२ करोड गरी कुल २६ अर्ब ८४ करोड १७ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएका हुन् । उद्योग विभागका अनुसार ३८६ उद्योगका लागि सो लगानी प्रतिबद्धता प्राप्त भएको हो । 

विभागका अनुसार प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ७ महिनामा २११ उद्योगका लागि २४ अर्ब २१ करोड ३४ लाख ७६ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको हो । त्यस्तै, यस अवधिमा स्वचालित प्रणालीबाट १७५ उद्योगका लागि २ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । 

चालु आवको ७ महिनाको अवधिमा सेयर पर्चेज एग्रीमेन्ट (एसपीए) र सेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) मार्फत ३२ उद्योगका लागि १ अर्ब ९४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यस्तै ४२ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) स्वीकृत भएको विभागले जनाएको छ । 

उद्योग विभागका अनुसार ७ महिनाको अवधिमा ३७५ वटा साना उद्योग, ७ वटा मध्यम र ४ वटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो । ७ महिनामा प्राप्त प्रतिबद्धता बमोजिम लगानी भित्रिएमा थप १० हजार ७२६ जनाले रोजगारी पाउनेछन् ।

उद्योग विभागका अनुसार हालसम्म ६ हजार ७८५ उद्योगका लागि कुल ५ खर्ब ४६ अर्ब ६० करोड रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ । हालसम्म स्वचालित प्रणालीबाट ३१४ उद्योगका लागि १० अर्ब ७४ करोड ४४ लाख रुपैयाँ तथा स्वीकृति प्रणालीबाट ६ हजार ४७१ उद्योगका लागि ५ खर्ब ३५ अर्ब ८५ करोड ९७ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । प्रतिबद्धता अनुसारको लगानी भएमा ३ लाख ३८ हजार ९६७ रोजगारी सिर्जना हुने विभागको भनाइ छ । 

null

माघमा ३२ उद्योगका लागि १ अर्ब बढीको प्रतिबद्धता 

चालु आर्थिक वर्षको माघ महिनामा मात्रै ३२ उद्योगका लागि १ अर्ब ६ करोड ५२ लाख ४५ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । जसमध्ये प्रमाणीकरण (स्वीकृति) प्रणालीबाट ११ उद्योगका लागि ८१ करोड ८५ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । त्यस्तै, स्वचालित प्रणालीबाट २१ उद्योगका लागि २४ करोड ६७ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । 

माघ महिनामा सेयर पर्चेज एग्रीमेन्ट (एसपीए) र सेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) मार्फत २ उद्योगका लागि ९ करोड २२ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएकोे छ । यस्तै १७ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) स्वीकृत भएको विभागले जनाएको छ । माघ महिनाको प्रतिबद्धता अनुसार मात्रै थप ६९८ जनाले रोजगारी पाउनेछन् । माघमा मात्रै ३३ वटा साना उद्योग, २ वटा मध्यम र एउटा ठूला उद्योगका लागि लगानी प्रतिवद्धता आएको छ ।