काठमाडौं । वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक कोष (पुल) सञ्चालन सम्बन्धी निर्देशन, २०८१ संशोधन भएको छ । नेपाल बीमा प्राधिकरणले फागुन ६ गते निर्देशनलाई पहिलो पटक संशोधन गरेको हो ।
प्राधिकरणले निर्देशन संशोधन गरेर पुलको प्रबन्धक पुनर्बीमा कम्पनीहरूले ४/४ वर्षका लागि पालैपालो गर्नुपर्ने व्यवस्था गरेको छ । हाल नेपालमा नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनी गरी २ वटा पुनर्बीमकहरु रहेका छन् । तिनै पुनर्बीमकले ४/४ वर्षमा पालैपालो पुलको प्रबन्धन गर्नुपर्ने छ ।
यस अघि संयुक्तरुपमा एकैसाथ उक्त २ कम्पनीले पुलको प्रबन्धन गर्दथे ।
उक्त निर्देशन गत भदौ महिनामा प्राधिकरणले जारी गरेको थियो । निर्माण गरेको ६ महिना नपुग्दै संशोधन गरिएको हो ।
वैदेशिक रोजगार बीमामा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै प्राधिकरणले पुल प्रणाली लागु गरेको हो । बीमा कम्पनीहरूले क्यास ब्याक दिएर बीमा गराउन थालेपछि बजार अस्वस्थ बन्न पुगेको थियो । त्यसलाई व्यवस्थापन गर्न र अवस्था प्रतिस्पर्धा हटाउन भन्दै प्राधिकरणले पुल प्रणाली लागु गरेको हो ।
पुल प्रणाली भनेको सबै कम्पनीले संकलन गरेको रकम एकै ठाउँमा जम्मा गर्ने र सोही रकमबाट दाबी भुक्तानी लगायतको खर्च भुक्तान गर्ने हो । बाँकी रहेको रकम कम्पनीहरूलाई अनुपातका आधारमा वितरण हुन्छ ।
यस अवस्थामा थोरै व्यापार गर्ने कम्पनीले पनि व्यापार गरेको भन्दा धेरै नै फाइदा पुग्छ । धेरै व्यापार गर्ने कम्पनीबाट भएको आम्दानी थोरै व्यापार गर्ने कम्पनीलाई पनि भाग लगाइने हुँदा केही बीमा कम्पनीहरूले पुल प्रणाली लागु भएको प्रति असन्तुष्टि जनाउँदै आएका थिए ।
आफूले गरेको व्यापारीबाट अन्यलाई पनि भाग लाग्ने भएपछि केही कम्पनीहरूले पुल प्रणाली लागु भएपछि व्यापार घटाउँदै लैजान थालेका थिए ।