काठमाडौ । नेप्से सूचकसँगै कारोबार रकममा समेत बढोत्तरी आउन थालेपछि शेयर बजारमा उत्साह थपिएको छ । यो साताको लगातार ३ दिन नप्से सूचक बढेको छ भने कारोबार रकम समेत क्रमश बढदै गएको छ । यसले बजारले सकारात्मक लय समाउने संकेत गरेको छ ।
आइतबार १९ अंक र सोमबार २९ अंकले बढेको नेप्से सूचक मंगलबार १२.६८ विन्दुले बढेर २७४०.५९ अंकमा आइपुगेको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १० अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आइतबार ९ अर्ब २७ करोड र सोमबार ९ अर्ब ८९ करोडको कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । मंगलबारको कारोबारमा वाणिज्य बैंक, लगानी, जलविद्युत, जिवन तथा नीर्जिवन बिमा, अन्य र व्यापार समूहको सूचक बढ्दा बाँकी समूहको सूचक घटेका हुन् । यस दिन ३१४ स्टकको ९९ हजार ५८५ पटकको कारोबारमा १ करोड ८२ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, इमर्जीङ्ग नेपाल र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) र इष्टर्न हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ ।
यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य र १०.२५ प्रतिशत केबिएल डिबेन्चर २०८६ को मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ ।