शीर्षकहरू

प्राधिकरणको अध्यक्ष नियुक्तीमा राजनीतिक हस्तक्षेप : बीमा क्षेत्रको विश्वसनीयता र सुरक्षामा संकट

प्राधिकरणको अध्यक्ष नियुक्तीमा राजनीतिक हस्तक्षेप : बीमा क्षेत्रको विश्वसनीयता र सुरक्षामा संकट

  • कस्तो हुनुपर्नेछ प्राधिकरणको अध्यक्ष ?
  • बीमा क्षेत्रलाई कमजोर बनाउने बीमा ऐन 
  • कस्ता थिए प्राधिकरणका पूर्व अध्यक्षहरू ?
  • कस्ता छन् सर्ट लिस्टमा परेका अध्यक्षका दाबेदार ?
     

काठमाडौं । बीमा जोखिम हस्तान्तरण गर्ने उपकरण हो । तर, बीमा क्षेत्रसँग सम्बन्धित निकायहरूले आ आफ्नो जिम्मेवारी पुरा नगर्दा बीमा क्षेत्रमा जोखिम बढ्दै गएको छ । फलस्वरुप सुरक्षाको लागि बनाइएको बीमा पोलिसी नै हत्या, आगजनी, दुर्घटना, ठगी जस्ता अपराधिक घटनाका कारक बनेको छ । 

बीमा क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउनुमा नियामक निकायको हैसियतले नेपाल बीमा प्राधिकरणको भूमिका अहम रहन्छ । नेपालमा १४/१४ वटा जीवन र निर्जीवन बीमा कम्पनी छन् । सात वटा लघुबीमा कम्पनी, दुई वटा पुनर्बीमा र १० वटा पुनर्बीमा ब्रोकर कम्पनी छन् । बीमा कम्पनीले बार्षिक करिब २ खर्बको कारोबार गर्दै आएका छन् । बजारमा बीमा क्षेत्रका प्लेयरहरु विस्तार हुँदै छन् । त्यसैले प्राधिकरणको अध्यक्षको नियुक्तीलाई पनि महत्वका साथ हेरिन थालेको छ । 

गत माघ देखि प्राधिकरणको अध्यक्षको पद रिक्त भएको छ । पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै अध्यक्ष छनौटको प्रक्रिया शुरु हुनु पर्ने हो । तर, अर्थमन्त्रालयले बल्ल पहिलो चरणको छनौट प्रक्रिया सकेको छ । 

अर्थमन्त्रालयले गत माघमा खुलाएको आवेदनमा प्राधिकरणको अध्यक्ष पदका लागि माघको ११ गते अन्तिम दिनसम्म १२ जनाले आवेदन दिएका थिए । कमल प्रसाद रेग्मी, डा.देवराज रोक्का, शरद ओझा, चिरञ्जीवी चापागाई, विष्णु बाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिम प्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठले आवेदन दिएका थिए । 

अध्यक्षको छनौटको लागि मन्त्रालयले छनौट समिति पनि गठन गरेको छ । समितिले सोमबार (फागुन ५) १२ जनामध्येबाट सर्टलिस्टमा ५ जना छनौट गरेको छ । सर्टलिस्टमा परेकालाई आगामी फागुन १० गते व्यवसायिक योजना र अन्तरवार्ताको लागि डाकेको छ । अन्तरवार्ता पछि तीन जनाको नाम समितिले अर्थमन्त्रालयलाई सिफारिस गर्नेछ । तीन जनामध्ये मन्त्रालयले एक जना छनौट गर्नेछ । 

कस्तो हुनुपर्नेछ प्राधिकरणको अध्यक्ष ?

सम्भावित दुर्घटनाको आकलन गरी जोखिम हस्तान्तरण गर्नुपर्ने भएकाले बीमा क्षेत्र संवेदनशील छ । त्यसैले बीमा क्षेत्र बढी अनुशासित र पारदर्शी हुनुपर्नेछ । तर, प्राधिकरणको अध्यक्ष नियुक्तीमा राजनीति हावी हुने हुँदा बीमा क्षेत्रको साख गुम्दै गएको सरोकारवालाहरु बताउँछन् । बीमा क्षेत्रलाई बुझेर नयाँ उचाइमा लैजान सक्ने भन्दा पनि सरकारले ‘एस म्यान’ लाई अध्यक्ष गर्ने परिपाटी छ । जसका कारण बीमा क्षेत्र झनै धराशायी भएको सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । 

नेपाल जीवन बीमक संघ अध्यक्ष एवम् सिटिजन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बीमा क्षेत्रलाई नजिकबाट बुझेको व्यक्ति बीमा प्राधिकरणको अध्यक्ष हुनुपर्ने तर्क राख्छन् । ‘अध्यक्षमा बीमा क्षेत्रको सर्वाङ्गीण विकास गर्न सक्ने, उच्च भिजन भएको, सरकारसँग पनि सहकार्य गर्न सक्ने क्षमता हुनुपर्छ,’ उनले भने । यस्ता व्यक्तिले मात्रै बीमा क्षेत्रलाई नयाँ उचाई लैजान सक्छ । 

नेपाल बीमक संघका पूर्व अध्यक्ष एवम् सगरमाथा लुम्बिनी इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले पनि बीमा बजारलाई बुझेको मानिस नै प्राधिकरणको अध्यक्ष हुनुपर्ने धारणा राख्छन् । ‘अध्यक्ष हुनका लागि बीमा बुझेको हुनुपर्ने पहिलो सर्त हो । यसका साथै नेतृत्व क्षमता पनि हुनुपर्छ । स्पष्ट दृष्टिकोण, सक्षम निर्णय क्षमता, उच्च नैतिक चरित्र भएको हुनुपर्नेछ,’ उनले भने । 

अर्थविद् डा.गोपाल प्रसाद भटट्ले पनि बीमा क्षेत्रलाई बुझेको मानिस बीमा प्राधिकरणको अध्यक्ष हुनुपर्ने बताउँछन् । ‘नियमनकारी निकाय भनेको सरकारका नै अंग हुन् । बीमा प्राधिकरणको काम कम्पनीलाई नियमन गर्ने, बीमितको रक्षा गर्ने, भरपर्दो सेवा दिने हो । यस्तो कामको लागि बीमा क्षेत्र बुझेको मानिस हुनु जरुरी छ,’ उनले भने । 

पेसागत अभिकर्ता संघका अध्यक्ष केदारनाथ अधिकारी पनि बीमा ज्ञान भएको व्यक्ति बीमाको अध्यक्ष हुनुपर्ने बताउँछन् । ‘बीमा कम्पनीमा काम गरेका, बीमा विषयमा नै विद्यावारिधि गरेका वा प्राधिकरणका प्रशासक पनि अध्यक्षका लागि योग्य व्यक्ति हुन्छन्,’ उनले भने । तर, जीवन र निर्जीवन बीमा बीचको भेद थाहा नपाउने अध्यक्ष नियुक्त गर्दा बीमा क्षेत्रले ठूलो दुर्घटना व्यहोर्नु पर्ने उनले बताए । ‘सरकारका पूर्व सचिव र कर्मचारी नियुक्त गर्दा बीमा क्षेत्र दुर्घटना परी सक्यो । त्यसैले फेरी पनि बीमा नबुझेको मानिस नियुक्ती गर्ने चेष्टा सरकारले नगरोस,’ उनले भने  । 

बीमा क्षेत्रलाई कमजोर नै बनाउने गरी शंसोधन गरिएको बीमा ऐन

बीमा ऐन २०७९ अनुसार बीमा प्राधिकरणको अध्यक्ष नियुक्तीको लागि नेपाल सरकार समक्ष नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा मन्त्रालयका सचिव र बीमा क्षेत्रसँग सम्बन्धित विशेषज्ञ सदस्य रहेको एक समिति गठन गर्नेछ । समितिको सिफारिसमा सरकारले अध्यक्ष नियुक्त गर्न सक्नेछ । 

ऐन बमोजिम बीमा, मौद्रिक, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ । 

यस अघिको ऐन २०४९ मा दफा ६ मा बीमा व्यवसायमा विशेष ज्ञान भएको कुनै व्यक्तिलाई नेपाल सरकारले अध्यक्ष पदमा नियुक्त गर्न वा तोक्ने सक्ने भन्ने व्यवस्था थियो । तर, शंसोधित ऐन बीमा व्यवसाय सम्बन्धी ज्ञान भएको हुनुपर्ने शब्दलाई हटाइएको छ । यो बुँदा हटाउन स्वार्थी समूह हावी भएको बीमा कम्पनीका एक प्रमुख कार्यकारी अधिकृतले बताए । ‘यो बुँदा हटाए पछि सरकारका पूर्व कर्मचारी पनि नियुक्त हुन सक्ने भए वा बीमा क्षेत्र भन्दा बाहिरका व्यक्तिलाई पनि नियुक्त गर्न सकिने भयो,’ उनले भने । 

त्यस्तै, सरकारले ऐन शंसोधन गर्दै बीमकको सञ्चालक समितिको अध्यक्ष, सदस्य, कार्यकारी प्रमुख तथा उच्च व्यवस्थापकीय पदाधिकारीको पदबाट अलग भएको दुई वर्ष पुरा नभएको व्यक्ति अध्यक्षका नियुक्त हुन नपाउने प्रावधान राखेको छ । ऐनमा गरिएको यस्तो शंसोधन बीमा क्षेत्रका जानकार व्यक्तिलाई प्राधिकरणका प्रवेश गर्नबाटरोक लगाइएको उनले दाबी गरे । ‘बीमा कम्पनीको उच्च पदमा काम गरि सकेको व्यक्तिको लक्ष्य भनेको प्राधिकरणको नेतृत्व सम्हाल्ने हुन्छ । यस्ता व्यक्तिले बीमा क्षेत्रलाई राम्ररी बुझेका हुन्छन् । तर, ऐन नै शंसोधन गरी यस्ता व्यक्तिको प्रवेशलाई पहिलो नै रोक लगाई सरकारका कर्मचारी र आफ अनुकुलका व्यक्तिलाई भर्ती केन्द्र बनाइएको छ,’ उनले दाबी गरे । 

अध्यक्षको पदावधि चार वर्षको हुनेछ । सरकारले चाहेमा अध्यक्षको एक कार्यकाल थप गर्न सक्नेछ । 

कस्ता थिए प्राधिकरणका पूर्व अध्यक्षहरू ?

बीमा ऐन २०४९ जारी भए पछि समितिमा अध्यक्ष रहने व्यवस्था गरिएको हो । सोही बमोजिम मन्त्रालयले लव प्रसाद शर्मालाई समितिको पहिलो अध्यक्षको रुपमा नियुक्त ग¥यो । त्यस्तै, दोस्रो अध्यक्ष डा.प्रफुल्ल कुमार काफ्ले हुन् । नारायण सिलवाल समितिको तेस्रो अध्यक्ष हुन्  । उनी २०५९ सालमा समितिको अध्यक्षमा नियुक्त भएका थिए । २०६० सालमा माधव कुमार उपाध्याय समितिको चौथो अध्यक्षको रुपमा नियुक्त थिए । उनले २०६४ भदौ १० गतेसम्म समितिको नेतृत्व गरे । उपाध्यायले दुई कार्यकाल समितिको अध्यक्ष भै काम गरे । २०६४ साल भदौमा देवेन्द्र प्रताप शाह समितिको अध्यक्ष नियुक्त भएका हुन् । उनी समितिको पाँचौ अध्यक्ष हुन् । 

प्रा.डा.फत्त बहादुर केसी समितिको छैटौँ अध्यक्ष हुन् । २०६५ साल पुसमा समितिको अध्यक्ष नियुक्त भएका केसीले २०७३ पुससम्म समितिको नेतृत्व गरी रहे । केसीको नेतृत्वलाई बीमा क्षेत्रमा प्रशंसा गरिन्छ । केसीले बीमा कम्पनीहरूलाई धेरै हदसम्म सुशासनमा राखेको एक बीमा कम्पनीका पूर्व नायव प्रमुख कार्यकारी अधिकृतले बताए । ‘केसीले बीमा क्षेत्रलाई निट एण्ड क्लिन गरे । कम्पनीहरूलाई सेवा देउ अनि व्यापार गर भन्ने पाठ सिकाए,’ उनले भने । 

केसी आफ्नो निर्णयमा अडिग थिए । उनको यो प्रवृत्तिले बीमा क्षेत्रलाई राम्रो फाइदा पनि भयो । तर, केसीले एक दुई वटा केसमा चुकेको उनले सुनाए । 

तत्कालीन समितिका अध्यक्ष केसीसँग बीमा क्षेत्रको अनुभव नभए पनि उनको इमानदारिताले बीमा क्षेत्र केही चलायमान भएको अर्को एक बीमा कम्पनीमा पूर्व प्रमुख कार्यकारी अधिकृतले बताए । ‘केसी इमान्दार थिए । उनकै पालामा बीमा ऐनको विषयमा उठेको हो । उनले नै संस्थागत सुशासन निर्देशिका ल्याए,’ उनले भने । उनी सहज थिए र बौद्धिक थिए । तर, दुई कार्यकालमा पनि बीमा क्षेत्रले त्यति ठूलो फड्को मार्न नसकेको उनले बताए । ‘आठ बर्ष भनेको लामो अवधि हो । यो अवधिमा उनले धेरै विषयमा कार्यान्वयन गर्न सकेनन् । शायद मन्त्रालयसँग लबिङ्ग कम भएर होला,’ उनले भने । 

२०७३ साल पुसमा चिरञ्जीवी चापागाई भने बीमा समितिको अध्यक्ष नियुक्त भए । चापागाईको कार्यअवधि सबैभन्दा कमजोर भएको बीमा कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृतले बताए । ‘कोरोना बीमा उनको कार्यकालको सबैभन्दा खराब निर्णय थियो । हामीले हुँदैन भन्दा भन्दै नेताहरूलाई खुशी बनाउन उनले बीमा घोषणा गरे । जसले बीमा क्षेत्रलाई झनै पछाडि धकेल्यो । बीमा प्रति मानिसको विश्वास गुम्यो,’ उनले भने । उनकै पालामा झण्डै दोब्बर संख्यामा बीमा कम्पनी सञ्चालनमा आए । यसले पनि बीमा क्षेत्रमा उनी धेरै आलोचित बनेको उनले सुनाए । 

बीमा कम्पनीका पूर्व नायव प्रमुख कार्यकारी अधिकृतले भने निश्चित व्यक्तिको प्रभावमा परी संस्थागत सुशासन निर्देशिकालाई नै फेरबदल गरेको सुनाए । ‘केही बीमा कम्पनीका कर्मचारीको शैक्षिक योग्यतालाई सहज हुने गरी उनले फेरबदल गरे । आँखा चिम्लिए,’ उनले बताए ।  

२०७७ साल माघमा बीमा प्राधिकरणको अध्यक्षमा सूर्य प्रसाद सिलवाल नियुक्त भए । उनलाई वर्तमान अर्थमन्त्री विष्णु पौडेलले नै अध्यक्षमा नियुक्त गरेका थिए । उनकै पालमा सिलवाल निलम्बन पनि परे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिकता किर्ते गरेको ठहर गरेपछि उनी निलम्बनमा परे । सिलवाल सरकारका पूर्व सचिव पनि हुन् । 

बीमा कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृतले बीमा क्षेत्रको प्रवर्द्धन गर्ने विषयमा सिलवालको कुनै भिजन नै नभएको दाबी गर्छन् । ‘अध्यक्ष नियुक्त भएपछि उहाँले बीमा क्षेत्र सुधार गर्न वा विस्तारका लागि केही गर्नुभएन । अरु नै काम गर्नु भयो । मान्छेहरूलाई थर्काउने र धम्काउने काम गर्नु भयोे,’ उनले भने । 

हिमालयन पुनर्बीमा कम्पनी स्थापनमा सिलवालको ठूलो भूमिका छ । कम्पनी स्थापनामा उनले नीतिगत भ्रष्टाचार गरेको पनि बीमकहरुको आरोप छ । उनले नेपाल पुनर्बीमा कम्पनीको व्यवसाय खोसेर नीजि स्तरबाट खोलिएको हिमालयन पुनर्बीमा कम्पनीलाई दिएको आरोप छ । 

बीमा कम्पनीका पूर्व नायव कार्यकारी प्रमुखले भने सिलवाल अध्यक्षमा नियुक्त भएपछि आफ्ना नातेदार सबैलाई बीमा कम्पनीमा भर्ती गरेको बताए । 

कस्ता छन् सर्ट लिस्टमा परेका अध्यक्षका दाबेदार ?
 

कमल प्रसाद रेग्मी 
कमल प्रसाद रेग्मी नेपाल बीमा प्राधिकरणका निर्देशक हुन् । प्राधिकरणको कानून तथा नियमन महाशाखा प्रमुख रेग्मीले त्रिभुवन विश्वविद्यालयबाट बीमाङकी व्यवस्थापनमा विद्यावारिधि गर्दै छन् । 

रेग्मी २०६० देखि २०७२ सालसम्म  नेपाल टेलिभिजन वरिष्ठ लेखा अधिकृतको रुपमा कार्यरत रेग्मीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, जिल्ला प्रशासन कार्यालय (मुस्ताङ), कोष तथा लेखा नियन्त्रक कार्यालय (सिन्धुपाल्चोक) मा पनि काम गरि सकेका छन् । 

तत्कालीन खाद्य संस्थानको महाप्रबन्धक र वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकका लागि पनि सर्टलिस्टमा परेका थिए । 

रेग्मी प्राधिकरणमा इमान्दार कर्मचारीको रुपमा चिनिन्छ । चाकडी र राजनीति दाउपेचमा नलाग्ने भएकै कारण रेग्मी प्राधिकरणको नेतृत्वबाट नरुचाइएका व्यक्ति हुन् । नेतृत्वको चाकडी गर्न नसक्दा उनी धेरै पटक जिम्मेवारी विहीन भएका छन् । 
 

चिरञ्जीवी चापागाई 

बाग्लुङ्ग चिरञ्जीवी चापागाई नेपाल बीमा प्राधिकरणको पूर्व अध्यक्ष हुन् । २०७३ साल देखि २०७७ सालसम्म उनले तत्कालीन बीमा समितिको नेतृत्व सम्हालेका थिए । व्यवस्थापनमा स्नातकोत्तर गरेका चापागाईले नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक समेत हुन् । २०५४ सालमा अफिसर तहबाट राष्ट्र बैंकमा प्रवेश गरेका चापागाई २०७३ सालसम्म राष्ट्र बैँकको पोखरा शाखाको निर्देशकसम्म बने । 

यस अघि नै प्राधिकरणका नेतृत्व सम्हालेकै कारण चापागाई बीमा क्षेत्रका लागि अनुभवी मानिन्छन् । तर, चापागाईले कोरोना बीमा सञ्चालन र नयाँ कम्पनीलाई लाईसेन्स दिएकै कारण आलोचित भएका छन् । उसो त चापागाई तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाको निसाना परेको भनिन्छ । चापागाईले पूर्व अर्थमन्त्री खतिवडाले कोरोना बीमा सञ्चालनको लागि दबाब दिएको प्राधिकरणकै कर्मचारीहरु बताउँछन् । 

डा.दामोदर बसौला

कास्कीका दामोदर बसौला लामो समय देखि शिक्षण पेसामा आबद्ध छन् । बीमा विषयमा भारतबाट विद्यावारिधि गरेको बसौलाले व्यवस्थापन र कानुनमा विषयमा स्नातक समेत गरेका छन् । बसौलासँग पोखरा स्थित जनप्रिय मल्टिपल कलेजको सहायक क्याम्पस प्रमुखको अनुभव पनि छ । विगत २३ वर्ष देखि उनी अध्यापन पेसामा छन् । 

बसौलले यस अघि स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा रहेका काम गरी सकेका छन् । लोकसेवा आयोगको खुल्ला प्रतिस्पर्धाबाट उनी स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका थिए । बसौलाले आफ्नो कार्यकालमा स्वास्थ्य बीमालाई सबै जिल्लामा विस्तार गरेका थिए । बसौला यसअघि पनि प्राधिकरणको अध्यक्षको प्रतिस्पर्धामा सहभागी भै सकेका छन् । 

शरद ओझा

शरद ओझा सञ्चार, कानुन तथा अध्यापन क्षेत्रमा आबद्ध छन् । सञ्चार, वकालत र कर्पोरेट क्षेत्रमा उच्च व्यवस्थापकीय तहमा समेत गरी १२ वर्षको अनुभव छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट कानुनमा र व्यवस्थापन विषयमा स्नातक गरेका छन् ।

ओझाले नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघका लागि विज्ञका रूपमा काम गरेका छन् । ओझा यसअघि क्लिकमाण्डु डटकममा वरिष्ठ प्रबन्धक तथा विशेष संवाददाता पनि हुन् । उनले विभिन्न सञ्चारमाध्यम काम गरेका छन । हिमाल खबर पत्रिका, नेपाली टाइम्स, देश सञ्चार अनलाइन, प्रशासनिक मासिकमा तथा ट्रिनिटी एक्जिम तथा वरुण बेभरेज (नेपालमा पेप्सी उत्पादन तथा वितरण गर्ने कम्पनी) मा काम गरेको अनुभव छ । 

एपेक्स कलेज, राजधानी कलेज, इम्पेरियल कलेज, सायम कलेजमा विजनेश इन्भायरमेन्ट र इन्टरनेशनल विजनेश बिषय पढाउँछन्  । त्यस्तै, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) – पर्यटन नीति तथा योजना विषय पढाउँछन् । कन्चपुरका ओझासँग व्यावसायिक कानुन, वित्त नीति, मौद्रिक नीति, राजस्व प्रशासन, अर्थतन्त्र विश्लेषकको अनुभव छ । 

रामशरण पुडासैनी 

रामशरण पुडासैनी नेपाल सरकार पूर्व सचिव हुन् । हाल उनी कृषि विकास बैंकका अध्यक्ष हुन् । पुडासैनी अध्यक्ष बलिया दाबेदार मानिन्छ । उनी प्रधानमन्त्री केपी शर्मा ओली निकट र प्रिय पात्र मानिन्छन् । त्यसैले प्राधिकरणको आवेदन खुलेसँगै प्राधिकरणको अध्यक्षमा पुडासैनी नियुक्त हुने अडकल गरिएको छ ।