काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा पौने २ खर्ब सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको साउन देखि माघसम्ममा सार्वजनिक ऋण १ खर्ब ७६ अर्ब ९६ करोड रुपैयाँ थपिएको हो । योसँगै माघ मसान्तसम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ११ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । २०८१ साउन १ गतेसम्म २४ खर्ब ३४ अर्ब ९ करोड तिर्न बाँकी ऋण रहेको थियो ।
नेपालको अर्थतन्त्रको आकारको अनुपातमा तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.७७ प्रतिशत हो । यसमध्ये आन्तरिक ऋण जीडीपीको २२.४९ र बाह्य २३.२८ प्रतिशत छ । यस अवधिसम्म सरकारको तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ८२ अर्ब ८१ करोड रुपैयाँ तथा बाह्य ऋण भने १३ खर्ब २८ अर्ब २५ करोड रुपैयाँ छ । कुल सार्वजनिक ऋणमा माघ मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५०.८७ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४९.१३ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
गत साउन १ गतेसम्म तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र वाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड थियो । विनिमयदरमा भएको परिवर्तनका कारण यस आर्थिक वर्षको माघमसान्तसम्म आइपुग्दा ३६ अर्ब ५९ करोडले सार्वजनिक ऋणको दायित्व बढेकोे छ । पछिल्लो समयमा डलरको भाउ बढ्दै गएकाले ऋण दायित्व थपिएको हो ।
सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा माघ मसान्तसम्ममा २ खर्ब ९० अर्ब ५७ करोड ऋण प्राप्ति भएको छ । वार्षिक लक्ष्यको आधारमा कुल सार्वजनिक ऋण प्राप्ति ५३.१२ प्रतिशत छ । जसमा आन्तरिक ऋण प्राप्ति ६९.४४ प्रतिशत तथा बाह्य ऋण प्राप्ति २८.३१ प्रतिशत रहेको छ । यस अवधिमा सरकारले २ खर्ब २९ अर्ब १५ करोड आन्तरिक ऋण तथा ६१ अर्ब ४२ करोड बाह्य ऋण प्राप्ति गरेको छ ।
चालु आर्थिक वर्ष २०८१–८२ मा ऋण सेवा खर्चमा ४ खर्ब २ अर्ब वार्षिक बजेट रहेकोमा माघ मसान्तसम्म १ खर्ब ८८ अर्ब ७५ करोड भुक्तानी भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ४६.८५ प्रतिशत हो । कुल ग्राहस्थ उत्पादनको आधारमा कुल ऋण सेवा खर्च ३.३१ प्रतिशत हो । चालु आवको ७ महिनामा सरकारले १ खर्ब ६० अर्ब ६९ करोड आन्तरिक ऋण तथा २८ अर्ब ५ करोड बाह्य ऋणको दायित्व घटाएको छ । माघ मसान्तसम्म साँवा भुक्तानीमा १ खर्ब ५० अर्ब २० करोड र ब्याज भुक्तानीमा ३८ अर्ब ५४ करोड रुपैयाँ खर्च भएको छ ।
सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । त्यसमध्ये ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट र वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड ऋण जुटाइने बजेटमा उल्लेख छ । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । अर्धवार्षिक बजेट समीक्षामार्फत सरकारले बजेटको आकार झण्डै दश प्रतिशतले घटाएको छ ।