काठमाडौं । बीमा नियमावली, २०८१ मा भएको केहि व्यवस्थालाई लिएर पेशागत बीमा अभिकर्ता संघले आप्पत्ति जनाएको छ । नियामवलीमा अभिकर्तालाई मर्का पर्ने गरी केहि व्यवस्था समावेश भएपछि उनीहरु आक्रोशित भएका हुन् ।
उनीहरुले विशेषगरी अभिकर्ताको लाइसेन्स नविकरण गर्दा निश्चित प्रतिशत बीमालेख नविकरण गरेको प्रमाण चाहिने व्यवस्थाको विरोध गरेका हुन् । नियमावलीको दफा ४३ को उपदफा १ को ख मा अभिकर्ताको लाइसेन्स नविकरण गर्दा प्राधिकरणले निर्धारण गरे बमोजिमको प्रतिशत बीमालेख नवीकरण गरेको प्रमाण चाहिने उल्लेख छ ।
सोही लगायत अन्य व्यवस्थाहरुको विरोध गरेको संघका अध्यक्ष केदारनाथ अधिकारीले जानकारी दिए ।
यसैगरी, उनीहरुले नियमावलीको दफा ४४ को उपदफा ३ र ४ मा भएको व्यवस्थाले पनि अभिकर्ताले काम गर्न नसक्ने अवस्था सृजना हुने जनाएका छन् । उपदफा ३ मा अभिकर्तालाई प्रोत्साहन रकम प्रदान गर्दा प्रत्यक अभिकर्ता मार्फत जारी भएको बीमालेखको अनुपातका आधारमा भुक्तान गर्नुपर्ने उल्लेख छ ।
यसैगरी, उपदफा ४ मा बीमित आफैले कम्पनीमा कम्पनीमा गएर बीमा गरेमा अभिकर्ताले पाउने कमिसनको ५० प्रतिशत रकम छुट दिने व्यवस्था छ । यस व्यवस्थाले अभिकर्ताहरुलाई निरुत्साहन गरेको अध्यक्ष अधिकरीको भनाई छ ।
उनले बीमितलाई यसरी छुट दिन थालियो भने अभिकर्ताहरुले काम ठप्प गर्ने जानकारी दिए ।
यीनै मुद्दाहरु लिएर आज अभिकर्ता संघका पदाधिकारीहरु प्राधिकरणमा पुगेका छन् । आज प्राधिकरणमा यी व्यवस्थाहरु संसोधनका लागि दबाब दिने रणनीतिमा उनीहरु देखिन्छन् ।
यदि संसोधन नभएको खण्डमा सबै अभिकर्ताहरुले सामुहिक रुपमा लाइसेन्स प्राधिकरणलाई बुझाइदिने अध्यक्ष अधिकारीले बताए ।
उनका अनुसार विश्वको कुनै पनि देशमा बीमित स्वयमलाई कमिसन दिने व्यवस्था छैन । विश्वमा नभएको प्राक्टिस नेपालमा किन ल्याएको भन्दै उनले प्रश्न पनि गरेका छन् ।