काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को ७ महिनामा वाणिज्य बैंकहरुको निक्षेप २ खर्ब ४२ अर्ब रुपैयाँ संकलन हुँदा २ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा विस्तार भएको छ । माघ मसान्तसम्ममा बैंकहरुको कर्जा निक्षेप अनुपात औषतमा ७९.३५ प्रतिशत कायम भएको नेपाल बैंकर्स संघले जनाएको छ ।
संघका अनुसार गत आवको अन्तसम्ममा ५७ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । माघ मसान्तसम्म आइपुग्दा कुल निक्षेप संकलन ५९ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ ।
निक्षेप संकलनमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक आक्रामक देखिएको छ । ७७.५६ प्रतिशत सीडी रेसियो कायम गरेको यस बैंकले गएको ७ महिनामा ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यसैगरी, एनएमबी बैंकले ३३ अर्ब, नबिल बैंकले ३० अर्ब र एभरेष्ट बैंकले २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
एनआईसी एसिया बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकको निक्षेप संकलन घटेको छ । पछिल्लो ७ महिनामा एनआईसी एसियाको ५८ अर्ब, प्रभुको ३ अर्ब र सिद्धार्थको १ अर्ब रुपैयाँ निक्षेप घटेको संघको तथ्यांकले देखाउँछ ।
कर्जा विस्तारमा ग्लोबल आईएमई बैंक अगाडी रहेको छ । ग्लोबलले पछिल्लो ७ महिनामा ४० अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । यसैगरी, एभरेष्ट बैंकले ३४ अर्ब, एनएमबी बैंकले २७ अर्ब, नबिल बैंकले २३ र लक्ष्मी सनराईज बैंकले २२ अर्ब ९८ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन् ।
एनआईसी एसिया र प्रभु बैंक कर्जा विस्तारमा पनि कमजोर देखिएका छन् । यसैगरी, स्टाण्डर्ड चार्टर्ड बैंकको पनि कर्जा लगानी घटेको तथ्यांकले देखाउँछ । एनआईसीको कर्जा विस्तार करिब ३३ अर्बले घट्दा स्टण्डर्ड चार्टर्ड र प्रभुको क्रमशः ३ अर्ब ७९ करोड र १ अर्ब ५८ करोड रुपैयाँले घटेको छ ।
सीडी रेसियोका आधारमा सबैभन्दा अगाडी प्राइम कमर्सियल बैंक रहेको छ । प्राइम कमर्सियल बैंकको सीडी रेसियो ८५.७७ प्रतिशत रहेको छ । अर्थात प्राइम कमर्सियल बैंक थप कर्जा लागनीका लागि टाइट अवस्थामा रहेको छ ।
वाणिज्य बैंकहरुले निक्षेपको ९० प्रतिशत मात्र कर्जा विस्तार गर्न पाउँने व्यवस्था छ । यसअनुसार प्राइमले अब आफुसँग भएको निक्षेपको ४.२३ प्रतिशत मात्र कर्जा लगानी गर्न पाउँछ ।
८५.०२ प्रतिशत सीडी रेसियो रहेको सिद्धाथ बैंकको निक्षेप १ अर्बले घटेको छ भने कर्जा विस्तार १३ अर्बले वृद्धि भएको छ । जसले सीडी रेसियो वृद्धि हुन पुगेको हो ।
सिटिजन्स बैंक ईन्र्टनेशनलको सीडी रेसियो ८४.०१ प्रतिशत हुँदा एनएमबी बैंक र माछापुच्छ्रे बैंकको क्रमशः ८३.६२ र ८३.६० प्रतिशत रहेको छ ।
सीडी रेसियो कम हुनेहरुमा राष्ट्रि वाणिज्य बैंक अगाडी छ । जसको सीडी रेसियो ६३.९६ प्रतिशत रहेको छ । यसैगरी स्टण्डर्ड चार्टडको सीडी रेसियो ६८.९७ प्रतिशत रहेको छ ।