शीर्षकहरू

सिर्सिया सुख्खा बन्दरगाह भन्सारबाट राजश्व संकलनमा सुधार

सिर्सिया सुख्खा बन्दरगाह भन्सारबाट राजश्व संकलनमा सुधार

पर्सा । देशकै पहिलो रेल सुविधा सम्पन्न वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व सङ्कलनमा सुधार आएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यको ७९ प्रतिशत राजस्व संकलन गरेको कार्यालयले माघमा लक्ष्यको ९३ प्रतिशत संकलन गर्न सफल भएको छ । 

कोरोना महामारी र सोपाछि आएको वैश्विक आर्थिक मन्दीका कारण उद्योग व्यापारमा देखिएको संकुचनले गर्दा राजस्व संकलन घट्दै गएकामा पछिल्ला केही महिनादेखि क्रमिक सुधार हुँदैछ ।  

साउन महिनाका लागि भन्सार विभागले ४ अर्ब ७३ करोड ३१ लाख राजस्व संकलन गर्ने लक्ष्य दिएकामा कार्यालयले ३ अर्ब ७५ करोड २२ लाख संकलन गरेको थियो भने माघका लागि ४ अर्ब ६२ करोड ४८ लाख लक्ष्य तोकिएकामा कार्यालयले ४ अर्ब २९ करोड ९२ लाख संकलन गरेको कार्यालयका प्रमुख धनबहादुर बरुवालले जानकारी दिए । उनले लामो समयदेखि औद्योगिक कच्चा पर्दाथको न्यून आयात हुँदै आएकामा पछिल्लो केही महिनादेखि सुधार हुँदै गएकाले राजस्व संकलनमा पनि सुधार देखिएको बताए ।

बारा पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित फलाम उद्योगका लागि आवश्यक कच्चा पदार्थको आयात बढेकाले आउने दिनमा राजस्व संकलनमा थप सुधार हुने अपेक्षा गरिएको कार्यालय प्रमुख बरुवालको भनाइ छ । उनले औद्योगिक कच्चा पदार्थको आयातमा क्रमिक सुधार देखिए पनि मदिरा र बिलासी उपभोग्य वस्तुको आयातमा खासै सुधार नभएको बताए ।  

समग्रमा चालु आर्थिक वर्षका ७  महिनामा लक्ष्यको ८२ प्रतिशत र वार्षिक लक्ष्यको ४६ प्रतिशतमात्र राजस्व संकलन भएको छ । विभागले कार्यालयका लागि ७ महिनामा कुल ३३ अर्ब ६९ करोड ७१ लाख राजस्व संकलनको लक्ष्य दिएको थियो । वर्षभरिका लागि भने ६० अर्ब चार करोड ८७ लाख लक्ष्य दिएको छ ।