काठमाडौं । यशोदा फुड्स प्रालिले कपिलवस्तुको चन्द्रौटामा नयाँ फ्याक्ट्री स्थापना गरेको छ । ९० प्रतिशत नेपाली कच्चा पदार्थ प्रयोगगरी अन्तर्राष्ट्रियस्तरको स्वादिलो चाउचाउ लगायतका विभिन्न स्न्याक्सहरु उत्पादन गर्दै आएको कम्पनीले आफ्नो व्यवसाय विस्तारका लागि नयाँ फ्याक्ट्री स्थापना गरेको हो ।
हालै मात्र एशोदा फुड्सले वाइवाइका पूर्व ग्लोबल कार्यकारी निर्देशक जीपी साहलाई भित्राएर आफ्नो ग्लोबल कार्यकारी निर्देशक नियुक्त गरेर यशोदाको उत्पादनलाई विश्व बजारमा लैजाने तयारी गरेको छ । चौधरी समूहमा २४ वर्ष काम गरेका साहले वाइवाइलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गराउन प्रमुख भूमिका खेलेका थिए । अब नेपालकै कच्चा पदार्थबाट उत्पादन भएको करेन्टको उत्पादनलाई विस्तारमा थप तीब्रता दिँन ग्लोबल कार्यकारी निर्देशक नियुक्त गरिएको कम्पनीका अध्यक्ष चुन्नप्रसाद पौडेल बताउँछन ।
कम्पनीका अध्यक्ष पौडेलले कपिलवस्तुमा नयाँ फ्याक्ट्री स्थापन गरे पनि त्यहाबाट उत्पादन भएको उत्पादनको बजारमा माग कम भएको आर्थिक न्युजलाई जानकारी दिए । यशोदा फुड्सले आफ्नै देशमा नेपाली किसानहरुबाट उत्पादित अकवरे खुर्सानी, गुन्दु्रक, टिमुर, फापर, कोदो, नेपाली उद्योगबाट उत्पादित मैदालगायतका विभिन्न कृषि उपज प्रयोग गरी करेन्ट चाउचाउ लगायतका विभिन्न स्न्याक्सहरु उत्पादन गर्दै आएको छ ।
कम्पनीले वार्षिक ६ अर्ब बराबरको कारोबार गर्ने गरेको अध्यक्ष पौडेलको भनाइ छ । जसमध्ये अन्तर्राष्ट्रिय बजारमा कम्पनीको वार्षिक टर्नओभर १ अर्ब रुपैयाँभन्दा माथि रहेको पनि कम्पनीले बताएको छ । साथै कम्पनीले करीव २१ हजार नेपालीलाई प्रत्क्षय रुपमा तथा सयौं डिलर बिक्रेतामार्फत अन्य हजारौं नेपालीहरुलाई रोजगारी दिएको छ ।
यशोदा फुड्सका उत्पादन स्वदेशसहितभारत, जापान, युएई, बहराईन, न्यूजिल्याण्ड, अमेरीका, अष्ट्रेलिया, मलेसिया, भुटान, कुवेत, कतार, बेलायत, सिंगापुर, तिब्बत, चाइना, कोरिया, क्यानाडा, इटालीलगायतका देशहरुमा निर्यात हुँदै आएको छ ।
यशोदा फुड्सका अनुसार कम्पनीका उत्पादनहरु प्रयोगशाला परिक्षण गराई नेपाल सरकारले जारी गरेको खाद्य सुरक्षा मापदण्ड बमोजिम उत्पादन गरी बजारमा पठाई रहेको छ । यशोदा फुड्सले आफ्नो उत्पादनको गुणस्तरमा विशेष सजगता अपनाइ आएको जनाउँदै उद्योग स्वच्छ व्यापारीक प्रतिस्पर्धाबाट अगाडि बढ्न चाहेको र आम उपभोक्ताको भावनाप्रति सजग रहेको जनाएको छ ।
भारत, क्यानडा, अमेरिका, बहराइन, कुवेत, यूएई, जापान, यूके, इटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भुटान, हङकङ, कतार, सिंगापोर, न्युजिल्यान्डलगायत १५ भन्दा बढी देशमा कम्पनीले आफ्ना उत्पादन निर्यात गर्ने गरेको जनाएको छ ।