शीर्षकहरू

सम्पर्क विहिन २९ वटा आइएसपिएनलाई पत्र पठायो प्राधिकरणले

सम्पर्क विहिन २९ वटा आइएसपिएनलाई पत्र पठायो प्राधिकरणले

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सम्पर्क विहीन २९ इन्टरनेट सेवा प्रदायक (आइएसपिएन) लाई पत्र पठाएको छ । विगत चार बर्ष देखि ग्रामीण दूरसञ्चार विकास कोष र रोयल्टी समेत भुक्तानी नगरेका आइएसपिएनलाई प्राधिकरणले पत्र पठाएको हो । 

कनेक्ट नेपाल नेटवर्क, इष्टालिंक टेक्नोलोजी, दर्शन मिडिया, पिडिएस सर्भर, प्राइम नेटवर्क, विग मस्याङदी, चेरी वल्र्ड लगायतका आइएसपिनलाई प्राधिकरणले पत्र काटेको हो । केही आइएसपिएन चार बर्ष केही दुई वर्ष देखि प्राधिकरणको सम्पर्कमा छैनन् । सञ्चालन अनुमति लिएर सेवा मात्रै प्रवाह गरेका आइएसपिएनलाई दूरसञ्चार नियमावली अनुसार रकम भुक्तानीका लागि सम्पर्क आउन पत्र काटिएको प्राधिकरणले जनाएको छ । पाँच वर्षसम्म पनि सम्पर्कमा नआएमा सञ्चालन अनुमति नै रद्ध गरिने प्राधिकरणले जनाएको छ । 

नेपाल दूरसञ्चार प्राधिकरण (ग्रामीण दूरसञ्चार विकास कोष) विनियमावली २०६८ अनुसार प्रत्येक टेलिकम तथा इन्टरनेट सेवा प्रदायकले आर्थिक वर्ष सकिएको ६ महिना भित्र आफनो आम्दानीको २ प्रतिशत रकम कोषलाई बुझाउनु पर्नेछ । तोकिएको अवधिमा रकम नबुझाएमा प्रत्येक महिना २ प्रतिशत जरिवाना लाग्ने व्यवस्था समेत छ । त्यस्तै, आइएसपिएनले रोयल्टी वापत आम्दानीको ४ प्रतिशत रकम प्राधिकरणलाई बुझाउनुपर्ने व्यवस्था छ ।