काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले आगामी फागुन २ देखि चौथो रोजगार मेला आयोजना गर्ने भएको छ । नगरपालिकाले यो बर्ष ‘शिक्षा, सीप र उद्यमशीलता : रोजगारी हाम्रो प्राथमिकता’ भन्ने नाराका साथ रोजगार मेला आयोजना गर्न लागेको हो ।
नगरपालिकाले २०७८ सालदेखि श्रङ्खलाबद्ध रुपमा वृत्ति मेला आयोजना गर्दै आइरहेको छ । यो बर्षको रोजगार मेलाको तयारी पनि पुरा भएको नगरपालिकाका उपमेयर अनिता लामाले बताइन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपमेयर लामाले सीप , शिक्षा र उद्यमशीलता सहित रोजगारी पहिलो प्राथमिकतामा रहेको उनले बताइन् ।
मेलाका लागि आयोजक समिति गठन गरिएको छ । समितिको संयोजक नगर प्रमुख मिठाराम अधिकारी छन् भने उप संयोजकमा उपप्रमुख अनिता लामा रहने गरी मूल आयोजक समिति गठन गरिएको छ । समितिमा नगर स्तरीय उद्योग वाणिज्य संघका साथै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई समेत समावेश गरिएको छ । निजी क्षेत्रलाई मेलामा स्वःस्फूर्त सहभागिता गराउन विभिन्न चरणमा छलफल गराउनुको साथै उद्यम तथा व्यवसायको घरदैलोमा गई मेलामा सहभागिताका लागि प्रोत्साहन गरिएको उपमेयर लामाले बताइन् ।
मेलामा कुल ४२ वटा स्टल रहनेछन् । जसमध्ये २० बटा रोजगारदाता, ६ वटा शिक्षा, सीप तथा तालिम प्रदायक, ३ वटा उद्यमशीलता (युवा उद्यम), ७ वटा रमाइलो शुक्रबार प्रवर्द्धक र बाँकी ६ वटा विविध विषयका स्टलहरू रहनेछन् ।
मेलामा २५ हजार भन्दा बढी गृहिणी महिला, युवा तथा विद्यार्थी लगायतले अवलोकन गर्ने र मेला अवधिमा दर्जनौं बेरोजगार युवाहरूले रोजगारी प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
मेलामा नगरपालिकामा दर्ता रहेका १० हजार व्यावसायिक फर्महरुलाई आमन्त्रण गरिएको छ । मेलामा कम्तीमा १०० जनालाई मेला अवधिमा नै रोजगारीमा जोड्ने, २०० जनालाई इन्टर्नका लागि तयार गर्ने, १५० जनाका लागि साइकोमेट्रिक टेष्ट, औद्योगिक प्रशिक्षार्थी स्किल कम्पिटिसन, विद्यार्थीका अभिभावकलाई समेत करियर सम्बन्धी काउन्सेलिङ, १०० जना युवलाई सिंगल काउन्सेलिङ, ४०० जथना युवालाई सामुहिक काउन्सेलिङ लगायत कार्यक्रम राखिएको छ ।
मेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय विद्या भट्टराईले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । नगरपालिकाको कार्यालय परिसरमा आयोजना हुन गइरहेको यस कार्यक्रममा बागमती प्रदेशको शैक्षिक तालिम केन्द्र, धुलिखेलको आर्थिक सहयोग र हेल्भिटास इन्स्योर परियोजनाको प्राविधिक सहयोग रहेको छ । मेला दुई दिन सञ्चालन हुनेछ ।