शीर्षकहरू

धितो लिलामी वित्तीय संस्थाले पारदर्शिता अपनाएनन्

धितो लिलामी वित्तीय संस्थाले पारदर्शिता अपनाएनन्

वीरगञ्ज । बैंक तथा वित्तीय संस्थाले ऋणीको धितो लिलाम गर्दा कानुनी र विश्वसनीय ढङ्गले गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । 

जिल्ला प्रशासन कार्यालय पर्साको समन्वयमा बुधबार आयोजित बैंक तथा वित्तीय संस्थाका प्रादेशिक प्रमुख तथा प्रतिनिधिसँगको अन्तरसंवाद कार्यक्रमका वक्ताहरूले बैंक तथा वित्तीय संस्थाले ऋणीको धितो बापतको सम्पत्ति लिलाम गर्दा देखावटी रूपमा मात्रै नभएर विश्वसनीय ढङ्गले गर्नुपर्ने बताएका हुन् । 

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बैंक तथा वित्तीय संस्थाले ऋणीको धितो बापतको सम्पत्ति लिलाम गर्दा पारदर्शिता र विश्वसनीयता कायम गर्नुपर्ने बताए । “धितो स्वीकार गर्ने बेला ५० लाख मूल्याङ्कन भएको सम्पत्ति लिलाम गर्नुपर्दा भने २८÷३० लाख मूल्याङ्कन गर्ने प्रक्रियालाई सुधार गर्न जरुरी भइसकेको छ”, उनले भने, “धितो स्वीकार गर्दा इञ्जिनियर सहितको प्रयोग गरेको देखिन्छ तर, लिलाम गर्दा भने आफूखुसी मूल्यांकन गरी गरिन्छ ।,” यो विषयमा पनि सुधार गर्न आवश्यक भइसकेको छ ।

प्रजिअ अर्यालले धितो लिलाम गर्दा पहिला बनिबनाउ तीन÷चार व्यक्ति लगेर प्रक्रिया मात्रै मिलाउने प्रवृत्तिमा सुधार गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिए । “बैंक तथा वित्तीय संस्थाले कानुनी प्रक्रिया मात्रै पूरा गरेका देखिन्छ”, उनले भने, “असल नियत र खराब नियतका ऋणीलाई एउटै नजरले हेर्न हुँदैन । व्यवहारिक र पारदर्शितालाई पनि ध्यान दिन जरुरी छ ।” 

नेपाल राष्ट्र बैंक वीरगञ्जका निर्देशक सुशील पौडेलले बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाहमा मात्रै ध्यान नदिएर ऋण दिएपछि पनि ऋणीको निरन्तर अनुगमन गर्नुपर्नेमा जोड दिए । “धेरै ऋण प्रवाह गर्नेतर्फ मात्रै ध्यान केन्द्रित गर्नुहुँदैन”, उनले भने, “जुन प्रयोजनको लागि ऋण लिएको हो । सोही प्रयोजनमा प्रयोग भयो कि भएन भन्तेतर्फ पनि सचेत हुन जरुरी छ ।” 

वीरगञ्ज बैंक तथा वित्तीय संस्था समूहका संयोजक रोहिणी आचार्यले राष्ट्र बैँकको नीति र निर्देशिका अनुसार सञ्चालन हुँदै आइएको बताए । “केही संस्थाले गरेका गल्ती र कमजोरीलाई देखाएर अन्यलाई खराब भन्न हुँदैन”, उनले भने, “पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ऋण उठाउन समस्या भइरहेको छ । अर्काेतर्फ संस्थाका कर्मचारीलाई पनि भौतिक आक्रमण भएकोतर्फ सचेत गराउन चाहन्छु ।”