काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरी दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले माघ ८ गतेदेखि २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गरी माघ २९ गते बाँडफाँट गरेको हो ।
पहिलो चरणको आईपीओ बाँडफाँट सम्पन्न भएसँगै कम्पनीले फागुन ११ गतेदेखि आम सर्वसाधारणका ला िआईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
कुल कित्ता आईपीओमध्ये १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँटपश्चात् कम्पनीका कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरुलाई समेत १ लाख १२ हजार ५०० कित्ता शेयर बाँडफाँट गरिसकिएको जानकारी कम्पनीले दिएको छ । यी बाहेक बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर भने सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।
यो आईपीओ छिटो अवधि फागुन १५ गतेसम्म विक्रीमा रहनेछ । यदि सो अवधिसम्म माग बमोजिम आवेदन प्राप्त नभएमा भने ढिलो अवधि फागुन २५ गतेसम्म विक्री लम्बिने जानकारी कम्पनीले दिएको छ । पछिल्लो समय आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यो कम्पनीको आईपीओ छिटो अवधि फागुन १५ गतेसम्म मात्र निष्कासनमा रहने निष्चित छ ।
लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरीद माग गर्दै आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरुले कम्पनीको आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट आस्बा सेवाका लागि स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी समेत सहज तरिकाले कम्पनीको आईपीओ खरीद गर्न सकिने व्यवस्था छ ।
कम्पनीको आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । लघु निर्जीवन बीमा व्यवसायी कम्पनीको रुपमा यो कम्पनी २०८० साल बैशाख २६ गतेदेखि सञ्चालनमा रहेको छ । अघिल्लो आर्थिक वर्ष ०७९÷८० सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी १७ लाख ९९ हजार रुपैयाँ संचित मुनाफामा रहेको छ ।
सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ८० पैसा र प्रतिशेयर आम्दानी ८० पैसा छ । गत आर्थिक वर्ष ०८०÷८१ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी ३० लाख ८८ हजार रुपैयाँ संचित नाफामा रहेको छ । यस अवधिसम्म प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ३६ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी ५६ पैसा कायम छ । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम यस कम्पनीलाई ७५ करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्नेछ । हाल ५२ करोड ५० लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको आईपीओपछि ७५ करोड रुपैयाँ चुक्तापूँजी कायम हुनेछ ।