काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । माघ २९ गते साझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत २१ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले १ अर्ब ५ करोड २६ लाख ३२ हजार रुपैयाँ बराबरको नगद लाभांश कर समेत वितरण गर्ने तयारी कम्पनीले गरेको हो । कम्पनीले बीमा प्राधिकरणको निर्देशन बमोजिम तोके बमोजिमको चुक्तापूँजी कायम गरिसकेको अवस्थामा यस वर्ष नगद लाभांशलाई जोड दिएको हो । गत वर्ष कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति प्रदान गरी कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।