काठमाडौँ । यशोदा फुड्स प्रालिले करेन्ट आफ्ना उत्पादन रहेको करेन्ट चाउचाउका विषयमा भ्रम फैलाएको बताएको छ । सोमबार विज्ञप्ति जारी गर्दै कम्पनीले यशोदा फुड्सको उत्पादनको बारेमा भ्रमपूर्ण समाचारहरु प्रकाशन गराइ अदालतको अवहेलनाजन्य कार्य गरी दुष्प्रचार भएको बताएको छ ।
कम्पनीले करेन्ट नामको ट्रेडमार्क, लेबलसमेत उद्योग विभागबाट वर्ग ३० मा दर्ता गरी प्रमाणपत्र लिई प्रचलित कानून भित्र रहेर विभिन्न स्वादका चाउचाउलगायतका वस्तु उत्पादन गरिरहेको बताएको छ । प्रयोग भइरहेका ट्रेडमार्कको उद्योग विभागबाट विभिन्न मितिमा, लेबल डिजाइन ट्रेडमार्क दर्ता प्राप्त गरिसकेको उसको भनाइ छ ।
कम्पनीले आफूले उद्योग विभाग समक्षमा आवेदन नं. ०९८२२९ बाट करेन्ट रेगुलर रु. २०/- मा बिक्री गर्ने चाउचाउको ५ प्याक भनी लेबल दर्ताका लागि आवेदन दिएको थियो । तर सिजी फुड्स (नेपाल) प्रालिले सो लेबल दर्तामा विरोध जनाइ उद्योग विभागमा निवदेन दिएको थियो । सो निवेदनमाथि विभागले सिजी फुड्सको दाबी नपुग्ने र यशोदा फुडसले दर्ता माग गरेको ट्रेडमार्क दर्ता हुने भनी २०८० जेठ २९ गते फैसला गरेको दाबी कम्पनीले गरेको छ ।
सिजीले यशोदा फुड्सको लेबल दर्तामा विरोध जनाइ उच्च अदालतसमक्ष रिट दायर गरेकोमा अदालतको संयुक्त इजालसले सुनुवाइ गर्दै ट्रेडमार्कका हकमा शुरु तहले गरेको निर्णयको न्यायिक परीक्षण भइ अन्तिम टुङ्गो लाग्न बाँकी रहेकाले विभागबाट मिति २०८०/०२/२९ भएको निर्णय प्रस्तुत मुद्दाको फैसला नहुँदासम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको थियो ।
अदालतले साउन ३२ गते "कानुन बमोजिम गर्नु” आदेश दिएकोमा त्यसको गलत व्याख्या गरी विभिन्न सञ्चार माध्यममा यशोदा फुड्सको उत्पादनको बारेमा भ्रमपूर्ण समाचारहरु प्रकाशन गराएको कम्पनीको दाबी छ ।
आदेशलाई गलत व्याख्या गरी बिक्री वितरणमै रोक लगाएको र बजारमा गएको सामान समेत फिर्ता लिनुपर्ने भन्ने भ्रामक समाचार प्रकाशन भएको भन्दै कम्पनीले यसमा आपत्ति जनाएको छ ।
ती समाचारमा कुनै सत्यता नरहेको बताउँदै यशोदा फुड्सले त्यस्ता हल्लाको पछाडि नलागि निर्वाध रुपमा यशोदा फुड्सका उत्पादनहरु बिक्रीवितरण गर्न तथा उपभोग गर्न अनुरोध गरेको छ ।