काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति एवं सांसद डीपी अर्यालले सभापति रवि लामिछानेमाथि संसद्ले पनि प्रतिशोध साधेको आरोप लगाएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद्ले पनि सरकारको रबैयालाई समर्थन गरेको बताएका हुन् । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले त प्रतिशोध साँध्यो साँध्यो, सार्वभौम संसद्ले पनि सरकारको रबैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको छ । एउटा व्यक्ति जो चौथो ठूलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले पक्कै पनि चुकाउनुपर्नेछ ।’
साथै उनले झुटा मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनतालाई प्रष्ट थाहा भइसकेको बताए । उनले लामिछानेको सांसद पद निलम्बनको फुकुवा गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरे । उनले भने, ‘थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पदको निलम्बन तत्काल फुकुवा गर्न सम्माननीय सभामुख महोदयसँग माग गर्दछु ।’
रास्वपाकै सांसद बिनिता कठायतले सभापति लामिछानेलाई हिरासतमा राख्दैमा सहकारी पीडितको रकम फिर्ता भयो त ? भन्दै प्रतिप्रश्न गरिन् । सहकारी पीडितको समस्या समाधानमा बेवास्ता गरेको भन्दै उनले आपत्ति जनाइन् ।
शून्य समयमा सांसदहरुले आ–आफ्नो क्षेत्रमा देखिएका समस्या उजागर गरेका थिए । सो क्रममा सांसद ठाकुरप्रसाद गेरैले बुटवल–पाल्पा सडकको बाँकी काम समयमै सम्पन्न हुने गरी काम गर्न सुझाव दिए ।
सांसद तारा लामा तामाङले उखु किसानले समयमै भुक्तानी पाउनुपर्ने माग गरिन् । कञ्चनपुरमा हात्ती आतङ्कका कारण कृषिमा क्षति पुगेको भन्दै उहाँले किसानलाई उचित क्षतिपूर्तिको माग गरिन् ।
सांसद डा तोसिमा कार्कीले ललितपुरका नागरिकले टिपर आतङ्कका कारण दुःख पाइरको गुनासो गरिन् । नख्खु–भैँसीपाटी सडकमा ट्याक्टर आतङ्कले दुर्घटना बढेकाले बस्ती भएको क्षेत्रमा ट्याक्टर चलाउन निषेध गर्नुपर्ने बताइन् ।