काठमाडौं । वित्तीय क्षेत्रको प्रतिष्ठामा आच आउने गरी सामाजिक संजालहरुमा प्रेषित भएक भ्रामक समाचारहरू प्रति गम्भीर ध्यानाकर्षण भएको वित्तीय सम्बद्ध ४ वटा संस्थाले जनाएका छन् । शुक्रबार प्रेस नोट जारी गर्दै नेपाल बैकर्स संघ, डेभलमपेन्ट बैकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैकर्स संघले बैंकिङ क्षेत्र वित्तीय क्षेत्रलाई खलबलाउने गरी भएको अराजक गतिविधि र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको नाम प्रयोग गरी प्रेषित गरिएको केही भ्रामक र गलत अभिव्यक्तिहरू प्रति ध्यानाकर्षण भएको जनाएको हुन् ।
संस्थाहरूले सबै बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपकर्ताहरुको रकम पूर्णरुपमा सुरक्षित रहेको स्पष्ट पारेका छन् । नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख सम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको “निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत सुरक्षण गरिएको नोटमा उल्लेख छ ।
सामाजिक संजालहरुमा देखिने गलत तथा भ्रामक टिप्पणीहरूमा कुनै ध्यान नदिनु हुन र सम्बन्धित सरोकार निकायहरूले सम्प्रेषण गरेको सूचना र समाचारहरूलाई मात्र आधिकारिक रुपमा लिनु हुन अनुरोध गरेको छ । साथै, आम सर्वसाधारणहरूलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ्ग सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरूलाई कानुनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत सरकारी निकायहरूलाई आग्रह गरेको छ ।