शीर्षकहरू

म हिरो मेरी श्रीमती र छोरोको, फिल्मको लागि चरित्र मात्रै : विजय बराल

म हिरो मेरी श्रीमती र छोरोको, फिल्मको लागि चरित्र मात्रै : विजय बराल

काठमाडौँ । अभिनेता विजय बरालले आफू सिनेमाको हिरो नभइ समाजको चरित्र भएको बताएका छन् । काठमाडौँस्थित हिमालय ह्वाइटहाउसमा जारी लिटरेचर फेस्टिभलमा 'साहित्य, संगीत र सिनेमा सेसन'मा उनले भने, 'म हिरो त मेरी श्रीमती र छोरोको मात्रै हो, फिल्मका लागि त चरित्र हिरो हो ।'

लगातार सहायक भूमिकापछि  पूर्णबहादुरको सारङ्गीबाट मुख्य भुमिकामा आएका उनले अभिनयलाई पढाइले निखारता ल्याउने पनि बताए । उनले भने, 'अभिनय जन्मजातै हुन्छ । हरेक कुरा अवलोकन गरेर त्यसैको नक्कल गर्नु नै अभिनय हो तर त्यसलाई भावमा रुपान्तरण गर्नुपर्छ ।'

उनले अभिनय पनि एक जनरा भएको भन्दै भने, 'अहिले प्राकृतिक अभिनय सबैले मन पराइरहनुभएको छ । मेरो फिल्म पुर्ण बहादुरको सारङ्गीलाई धेरै मन पराउनुको कारण पनि यही हो ।'

पहिले सहायक भूमिकामा रहँदा र अहिले मुख्य भूमिकामा अनुबन्धित हुँदा अभिनयमा फरक नभए पनि त्यसलाई डोहोर्याउने तरिकामा भने फरक हुने उनले बताए । उनले भने, 'सहायक भूमिका भनेको बाटोको काँडा सफा गर्ने जस्तै हो तर मुख्य भुमिकामा जिम्मेवारी वोध र दवाव महशुस हुने रहेछ ।'

उनले पहिलेको भन्दा अहिले ५ गुणा पारिश्रमिक बढेको र जिम्मेवारी पनि उस्तै बढेको बताए । भने, 'धेरैले फिल्म चलेपछि भाउ बढेछ भन्छन् तर मैले मागेको हैन, उहाँहरु आफै दिन आउनुहुन्छ ।'