शीर्षकहरू

काठमाडौँमा फिरन्ते राउटे, भन्छन्- पढ्न मन छैन, मुखियाले पठाउँदैन पनि

काठमाडौँमा फिरन्ते राउटे, भन्छन्- पढ्न मन छैन, मुखियाले पठाउँदैन पनि

मुखियाको छोरो दीपक शाही । उनी नेपाली भाषा खरर बोल्न सक्छन्, भिडभाडमा कुरा गर्न सक्छन् । नेपाली गीत गाउन सक्छन् । उनले धक फुलाएर गाए, 'पर्ख पर्ख मायालु म पनि त आउँला, रेलको झ्याल समाएर सँगै रमाउँला ।'

उनीसँगै जिकी र सुरमान पनि स्टेज उक्लिए । महिलालाई खासै ठाउँ नदिने राउटेको सायद यो नै पहिलो छलफल हो, जहाँ २ महिला र २ पुरुष आत्मसम्मानका साथ स्टेजमा चढे । उनिहरुले राउटे जंगलमै जिन्दगी नामको छलफल कार्यक्रममा थोरै बोले धेरै सहजकर्ता दीपक सापकोटाका कुरा सुने ।

महिलालाई किन अहिलेसम्म मुखिया नबनाएको ? दिपकले गरेको प्रश्नमा दिपक शाहीले भने, 'पुर्खादेखि नै यो चलन छैन । आइमाइ शरम मान्छन्, त्यही भएर ।'

सुरमानलाई बोल्न नखोज्दा नखोज्दै सोधियो, 'स्कुल जान पढ्न मन छैन ?' उनले सिधै भनिन्, 'पढ्न मन छैन । मुखियाले पठाउँदैन पनि ।'

दिपक शाहीले पनि यही कुरा थपे, 'हामीलाई मुखियाले स्कुल जान दिँदैन तर पनि क ख ग घ हामीले पढेका छौं । नाम लेख्न आउन थालेको छ ।'

स्टेजमा उक्लिएका नविन शाही बोल्न सकेनन् । उनले आफू बिरामी भएको भन्दै माइक समाउनै मानेनन् । जिकीले उनकै मौलिक भाषामा सुमधुर गीत गाइन् ।

सुरमानले बोल्न मन नगरे पनि पहिलोपटक काठमाडौं देख्दाको अनुभव भने बाँडिन्, 'राम्रो लाग्यो ।' कुरा धेरै गर्नु र भात धेरै चपाउनु राम्रो हैन भन्ने चलन भएका राउटे समुदायले मुखले कम बोलेपनि भावभंगीले धेरै बोले । यति धेरै भिडमा माइक समातेर प्रश्नको सामना गर्न तयार उनीहरु सुर्खेतदेखि काठमाडौं यही छलफलका लागि आएका हुन् ।

दिपक शाहीले आफू १० या १२ चोटी काठमाडौं आइसकेको बताउँदै पहिलेको भन्दा नेपाल सरकारले धेरै सुविधा बढाएको बताए । सहजकर्ता दीपक सापकोटाले सरकारले घर बनाइदिए बस्ने भन्ने प्रश्न गर्दा उनिहरुले सहजै अस्विकार गरे । उल्टै प्रश्न गरे, घरमा किन बस्ने, हामीलाई त चक्कर लाग्छ ।

बलो बन्चरो र ओदान बोकेर विभिन्न जंगलहरुमा फिरन्ते जिवन बिताउँदै आएका राउटेहरु काठबाट बनेका सामानबाट अन्न साँटेर जिविकोपार्जन गर्न समुदाय हो । उनिहरु बाँदर मारेर खान्छन् । दिपक शाहीले हाँस्दै भने, मासु मिठो त बाँदरकै हुन्छ ।

तर अहिले यी सबै काम कम भएको छ । उनीहरु पहिलेको जस्तो धेरै काठका सामान बनाउँदैनन् । सरकारले ल्याएको बन सम्बन्धी नीति उनीहरुलाई पनि राम्रोसँग थाहा छ । भन्छन्, धेरै रुख काट्यो भने कानुन लाग्छ । ठिक्क काट्नुपर्छ ।

उनीहरु अहिले घरमा नबसे पनि चौरमा बस्छन् । बाक्लो या पातलो जंगल जस्तो भए पनि यसको नजिकै भएको चौरमा बस्न रमाइलो मान्छन् ।