एजेन्सी । अमेरिकी सेनाको विमान बिना कागजात अमेरिकामा रहेका भारतीयहरूलाई लिएर अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
डोनाल्ड ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि अमेरिकामा बसोबास गर्ने भारतीयहरूको यो पहिलो निर्वासन हो। यसअघि सुरक्षा अधिकारीहरूले बीबीसीका सहयोगी पत्रकार रविन्दर सिंह रोबिनलाई उनीहरूले आउने व्यक्तिहरूको सूची जाँच गरेको र त्यसमा कुनै पनि अपराधी नभएको बताएका थिए।
पञ्जाब सरकारका एनआरआई मामिला मन्त्री कुलदीप सिंह धालिवालले भारतीयहरूलाई अमेरिकाबाट डिपोर्ट गरिएको समाचारमा सोधिएका प्रश्नहरूको विस्तृत जवाफ दिएका छन्।
उनले यसलाई निकै गम्भीर विषय भएको बताएका छन् । आफ्नो फेसबुक पेजमा पोष्ट गरिएको सन्देशमा उनले २०५ भारतीयहरू अमृतसर एयरपोर्टमा अवतरण गर्ने, जहाँ उनीहरूलाई आफूले स्वागत गर्ने लेखेका छन् । अमेरिकी सरकारको निर्णयप्रति निराशा व्यक्त गर्दै कुलदीप धालिवालले धेरै भारतीय श्रम स्वीकृति लिएर त्यहाँ गएको तर पछि ती अनुमतिको म्याद सकिएपछि ती सबै भारतीय अवैध आप्रवासीको श्रेणीमा परेको दाबी गरेका छन् ।
रविन्द्र सिंह रोबिनका अनुसार अमृतसर पुग्ने केही व्यक्तिलाई प्रहरीको गाडीमा उनीहरुको गाउँमा लगिनेछ । बाँकी राज्यका मानिसहरूलाई उडानमार्फत पठाइनेछ । विमानस्थलभित्र सञ्चारकर्मीलाई अनुमति छैन तर विमानस्थल बाहिर पत्रकारले ती व्यक्तिसँग कुरा गर्न सक्नेछन् ।