काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा पनि मुद्दा दायर भएको छ । यसअघि कास्की, काठमाडौँ र रूपन्देहीमा उनीविरुद्ध सहकारीको रकम हिनामिनामा मुद्दा दायर भई धरौटी बुझाएर हिरासतबाहिरबाटै मुद्दा लड्न पाउनेगरी छुटेका रविविरुद्ध दर्ता भएको यो चौथो मुद्दा हो ।
मंगलबार जिल्ला सरकारी वकिल कार्यालयले साहारा चितवन बहुउदेश्यीय सहकारीको रकम हिनामिनामा चितवन जिल्ला अदालतमा रविसहित १५ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
सहकारीको १० करोड ८० लाख रुपैयाँ गोर्खा मिडियामा गएको देखिएको देखिएकाले सो रकम बराबर बिगो दाबी गरिएको छ । जसमध्ये लामिछानेसँग दुई करोड ७० लाख बराबरको बिगो दाबी गरिएको छ ।
सहकारी वकिलको कार्यालयले रविसहित रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ,नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफ अलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला , शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठलाई प्रतिवादी बनाएको छ ।