काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ ८ गतेदेखि निष्काशन गरेको आईपीओ आजसम्म मात्र विक्रीमा रहनेछ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले यो आईपीओमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशनका लागि पुस २५ गते अनुमति पाएको थियो । यस आधारमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आरक्षित १० प्रतिशत दरमा २ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गरिएको हो । आवेदन दिँदा न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिनेछ । आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस् क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा आईपीओ निष्काशन गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था वा मेरो शेयरमार्फत आवेदन पेश गर्न सक्नेछन् । यो कम्पनी लघुबीमा कम्पनी हो । यसले निर्जीवन बीमा व्यवसाय गरिरहेको छ । ७५ करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने अवस्थामा कम्पनीले आईपीओ निष्काशन गर्न लागेको हो ।