काठमाडौँ । हालसम्म काठमाडौँमा मात्रै अटोमोबाइलको बृहत् प्रदर्शनी हुने गरेको छ । तर अब भने पर्यटकीय शहर पोखरामा पनि यस्तो प्रदर्शनी हुने भएको छ ।
आइतबार काठमाण्डौमा नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपालले आफ्नो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशन (वाडा) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ । नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यमा आयोजित सो भेटघाट तथा छलफल कार्यक्रममा वाडाका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र कोइरालाले पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्न नाडाकातर्फबाट आवश्यक सहयोगको लागि औपचारिक रुपमा आग्रह गरेका थिए ।
सो भेटघाट तथा छलफल कार्यक्रममा उक्त अटो शो को संम्भाव्यता र त्यसको मोडालिटिका सम्बन्धमा विस्तृत रुपमा छलफल गरिएको थियो ।
उक्त छलफलमा आगामी चैत १३ देखि १७ सम्म पोखरामा वाडा अटो शो आयोजना गर्ने र त्यसका लागि तत्कालै सम्भाव्यता अध्ययनगरी त्यसको सर्बे रिर्पोटको आधारमा अन्य कार्यहरुलाई अघि बढाउने निर्णय गरेको सन्दर्भमा नाडाले मूख्य सल्लाहकारको भूमिका निर्वाह गर्नेछ ।
सो अवसरमा नाडाका अध्यक्ष करण चौधरीले वाडाका अध्यक्ष दिपेन्द्र कोइरालालाई शुभकामना सोभेनियर समेत प्रदान गरेका थिए ।
नाडाले सन् १९९८ देखि नाडा अटो शो हरेक वर्ष राजधानीमा आयोजना गर्दे आएको छ । १६ औं संस्करणको नाडा अटो शो गत भदौमा भृकुटी मण्डपमा भएको थियो ।