काठमाडौँ । सिस्नुपानी नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) मा आफ्नो प्रस्तुती दिएको छ । यूएईमा बस्ने नेपाली माझ ‘दुई थोपा हाँसो’ प्रस्तुती दिएको हो । नयाँ वर्ष २०२५ को अवसरमा यूएईमा बसोबास गरेका श्रमशील नेपाली नागरिकलाई मनोरञ्जन एवम् जीवनका बारेमा सकारात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क रूपमा कार्यक्रम गरिएको हो ।
नेपाली राजदूतावास अबुधाबीको संयोजनमा गैर आवसीय नेपाली संघ युएइको आयोजनामा सिस्नुपानी नेपालका कलाकारहरूको प्रस्तुति रहेको थियो ।
यूएईका लागि नेपाली राजदूत महामहिम तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा समुद्घाटन गरिएको उक्त कार्यक्रम आबुधाबीस्थित अलजोधा, एम ४४, मुसफ्फाबाट जनवरी १० तारिखमा सुरु गरिएको थियो । यसैगरी क्लिन्को क्याम्प , सज्जा सारजहाँ र अलकुजको बलेदिया भलिबल ग्राउन्डमा जनवरी ११ तारिखमा गरिएको थियो । जनवरी १२ तारिखमा भने इभर सेन्डाई क्याम्प, सोनापुर र इन्डियन सोसल सेन्टर अजमानमा सम्पन्न भएको थियो ।
कार्यक्रममा सिस्नुपानी नेपालका तर्फबाट कार्यक्रम संयोजक तथा सिस्नुपानी नेपालका महासचिव टंक आचार्य, चर्चित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल, गायक धीरेन्द्र पे्रमर्षि, कलाकार चक्र दवाडी र सरोज घिमिरेको उपस्थिति रहेको थियो । कलाकार मनोज गजुरेल र चक्र दवाडीले मदन भण्डारी र बीपी कोइरालाको भूमिका निर्वाह गरेका थिए ।
टंक आचार्यले आफ्नो र अध्यक्ष लक्ष्मण गाम्नागेको कविता सुनाएर परदेशिएका नेपालीलाई भावुक बनाएका थिए । धीरेन्द्र पे्रमर्षिको प्यारोडी गीतले सबैलाई रमाइलो प्रदान गरेको थियो भने सरोज घिमिरेले मन्तव्य दिएका थिए ।
राजदूतावासबाट प्रतिनिधित्व गर्दै दिपेन्द्र पौडेल र विकास भट्टराईले नेपालीले ध्यान दिनुपर्ने कुरामा चर्चा गरेका थिए ।
नेपाली रेमिट्यान्समा उल्लेख्य भूमिका निर्वाह गर्ने श्रमशील नेपालीका दुःखसुखमा ऊर्जा थप्ने उद्देश्यले सिस्नुपानी नेपालले विगत एघार वर्षदेखि यो कार्यक्रम दुई थोपा हाँसो गर्दै आएको छ । यूएईमा भने यो चौथो संस्करण हो ।