काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसमेत ८ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरूले स्याङ्जाको गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाले भवन निर्माण गर्न भनी कृषि निर्देशनालय, गण्डकी प्रदेश पोखराबाट अनुदान प्राप्त गरी भवन निर्माणको लागि विनियोजित बजेट हिनामिना गरेको पाइएको छ । एउटा जग्गाधनी प्रमाण पुर्जा देखाएर पछि अर्को ठाउँमा भवन बनाएको पाइएको अख्तियारले जनाएको छ ।
यस कार्यमा पोखरेलसहित कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका कृषि इन्जिनियर विश्वनाथ पौडेल, कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन कृषि अर्थ विज्ञ (शाखा प्रमुख) भानुभक्त भट्टराई, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपाने तिमिल्सिना, सचिव परसुराम खनाल, कोषाध्यक्ष उमा श्रेष्ठ र गल्याङ्ग नगरपालिका वडा नं. ३ बस्ने महेन्द्र कुमार भन्ने श्रीप्रसाद श्रेष्ठको संलग्नता रहेको पाइएको अख्तियारले जनाएको छ ।
कृषि विकास निर्देशनालय गण्डकी प्रदेशबाट अनुदानमा संचालन हुने कृषि बजार केन्द्र स्थापना गर्न जग्गाधनी श्रीप्रसाद श्रेष्ठको नाममा रहेको कित्ता नम्बर ५३८ र ५४२ को जग्गा भाडा सम्झौता गरिएको थियो । सम्झौता अनुसारको जग्गाको एकीन नै नगरी नेपाल सरकार सडक विभागको अधिकार क्षेत्रभित्रको कि.नं. २९२३ र कि.नं. २९२४ को जग्गामा नगरपालिकाबाट नक्सा पास समेत नगरी संरचना निर्माण गरी अनुदानको रकम भुक्तानी लिएको पाइएको छ ।
जग्गाधनीले एउटा कित्ता नम्बरको जग्गाको भाडा सम्झौता गरी आफ्नो हकभोग नपुग्ने नेपाल सरकार सडक विभागको अधिकार क्षेत्रभित्रको जग्गालाई आफ्नो भनी कानून विपरीत सहकारी संस्थालाई हक भोग गर्न दिएको र अनुदानको रकम २८ लाख ३७ हजार २१७ रुपैयाँ भुक्तानी दिई÷लिई सम्झौता विपरीतका कार्यहरू उनीहरुले गरेका थिए । उनीहरुसंग जनही २८ लाख ३७ हजार २१७ रुपैयाँ बिगो कायम गरि आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।