शीर्षकहरू

‘सबैलाई देखाइदिन्छु’ भन्दै राष्ट्र बैंकका हाकिम सर्वोच्चमा !

आफूले भनेजस्तो सरकारी गाडी चढ्न नपाएपछि अदालतमा गुहार

‘सबैलाई देखाइदिन्छु’ भन्दै राष्ट्र बैंकका हाकिम सर्वोच्चमा !

काठमाडौं । ‘अरूलाई के को चिन्ता, ...लाई खानकै चिन्ता’ भन्ने उखान अहिले नेपाल राष्ट्र बैंकमा चरितार्थ भएको छ । मुलुकको खस्कँदो आर्थिक अवस्था र समग्र बैंकिङ क्षेत्रमा भइरहेको नियोजित आक्रमणलाई कसरी निस्तेज पार्ने भन्ने कुराले राष्ट्र बैंक नेतृत्वको टाउको दुखिरहेका बेला त्यहींका एक हाकिमले भने अर्कै लफडा निकालेपछि यस्तो देखिएको हो ।

समाचार स्रोतका अनुसार नेपाल राष्ट्र बैंकका प्रथम श्रेणीका एक कर्मचारीले आफूले भनेजस्तो सरकारी गाडी चढ्न नपाएपछि राष्ट्र बैंकको सवारी कार्यविधि विरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, सञ्चालक समिति, गभर्नर, डेपुटी गभर्नरहरू र कार्यकारी निर्देशकहरूलाई विपक्षी बनाइएर सर्वोच्च अदालतमा मुद्दा दायर भएको हो ।

यसरी गाडी चढ्ने कुरामा चित्त दुखाएर सर्वोच्चमा कार्यविधि पुर्‍याउने हाकिम हुन्, नेपाल राष्ट्र बैंकका गैर-बैंकिङ वित्तीय संस्था सुपरीवेक्षण विभागका प्रथम श्रेणी इन्जिनियर सहदेव चन्द ! उनी गैर-बैंकिङ वित्तीय संस्था सुपरीवेक्षण विभागका निर्देशक हुन्‌ ।

चन्दले सञ्चालक समिति, गभर्नर, डेपुटी गभर्नरहरू र कार्यकारी निर्देशकले मात्र चढ्ने खालको गाडी सुविधा मागेपछि त्यहाँ विवाद चर्किएको थियो । यसरी गाडीको विषय विवादमा तानिएपछि उनले सर्वोच्च अदालतमा रिट हालेको बताइन्छ ।

राष्ट्र बैंक स्रोतका अनुसार प्रथम श्रेणीका कर्मचारी सबैले १२०० सीसी क्षमताको गाडी चढ्ने गरेका छन् । तर ती इन्जिनियरले सञ्चालक समिति, गभर्नर, डेपुटी गभर्नरहरू र कार्यकारी निर्देशकले चढ्ने गाडी चाहिएको भन्दै विवाद सृजना गरेको स्रोतले बतायो ।

स्रोत भन्छ, ‘उनले मागे जस्तो गाडी राष्ट्र बैंकमा नै जम्मा तीन वटामात्र छन् अनि उनलाई कसरी उपलब्ध गराउनु ? त्यसैले व्यवस्थापनले मागे अनुसारको दिन सकिँदैन भन्दा उहाँ अदालत जानुभएको हो ।’

राष्ट्र बैंकले ती कर्मचारीलाई गाडी उपलब्ध गराउन नसक्ने जानकारी गराएपछि ‘अब म तिमिहरूलाई देखाइदिन्छु’ भन्दै कार्यालयबाट निस्केर सिधै रिट हाल्न अदालत पुगेको राष्ट्र बैंक स्रोतले बतायो ।

स्रोत भन्छ, ‘राष्ट्र बैंक भित्रबाट उनीमाथि नै कारबाहीको कदम चालिने डरले पनि हुनसक्छ, उनले सञ्चालक समिति, गभर्नर, डेपुटी गभर्नरहरू र कार्यकारी निर्देशकलाई विपक्ष बनाएर मुद्दा दायर गरेका छन्‌ ।’

नेपाल राष्ट्र बैंकका गभर्नर आफूसहित त्यहाँ कार्यरत २१ जना उच्च पदमा कार्यरत सञ्चालक र कर्मचारीका लागि नीति बनाएर गाडी सुविधा लिन लागेकोले सो कार्यविधि रद्द गर्नुपर्ने अदालत समक्ष उनको माग रहेको बताइन्छ ।

राष्ट्र बैंकमा ती प्रथम श्रेणीका कर्मचारी ‘बुढानीलकण्ठबाट सञ्चालित’ व्यक्तिका रूपमा परिचित छन् । देउवा निवासबाट राजनीतिक रापतापप्राप्त भनी चिनिएका ती इन्जिनियरले राष्ट्र बैंकको सूचना प्रविधि विभागमा कामभन्दा कुरा बढी गर्ने गरेको अनौपचारिक कुराकानीमा उनका सहकर्मीहरू बताउँछन्‌ । उनले काम गर्ने भन्दा दलीय फुर्ती बढी लगाउँदा सहकर्मीहरू हैरान भएको सुनाउँछन्‌ ।

के भन्छन्‌ चन्द ?

‘गाडी सुविधालाई लिएर केन्द्रीय बैंककै कार्यविधिविरुद्ध अदालत पुग्नुभएछ, किन ?’ भनी आर्थिकन्यूजले जिज्ञासा राख्दा चन्दले घुमाउरो शैलीमा आफूले त्यसो गरेको बताए ।

‘राष्ट्र बैंकमा एउटा फोरह्वील गाडी त्यत्तिकै थन्किएको थियो, त्यो गाडी माग्दा मापदण्डले नदिने भनियो,’ चन्दले भने, ‘त्यसपछि मैले गाडी सुविधा नै लिइनँ । अहिले पनि मैले त्यस्तो सुविधा लिएको छैन । मुद्दा त वकिलहरू आएर, आवश्यक कागजपत्र माग गरेर हाल्नुभएको हो । त्यसमा मेरो संलग्नता छैन ।’